बाँकेमा रोकी राखेको ट्रकमा बस ठोक्कियो, ७ जनाको मृत्यु

बाँकेमा रोकी राखेको ट्रकमा बस ठोक्कियो, ७ जनाको मृत्यु

बुटवल : रोकेर राखिएको ट्रकमा यात्रु बस ठोक्किंदा बाँकेमा ७ जनाको मृत्यु भएको छ। 

बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा गएराति करिब ७ बजे यात्रुबाहक बस ठोक्किएर दुर्घटना हुँदा चालक, सहचालक सहित ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परि ३१ जना घाइते भएका छन्। दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस सडक किनारमा रोकेर राखिएको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किंदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

 राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कस्तुरी थापा, काँशीराम थारू, रूपा परियार, जयन्त थारू, चानुराम चौधरी, चालक गोविन्द ठकुरी (जुगबहादुर चन्द) रहेका छन्।  एक जनाको पहिचान अझै खुलेको छैन।

प्रहरीका अनुसार घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।

बर्दिया ठाकुरबाबा नगरपालिका-९ बेतहनीको सामुदायिक वन समूहको टोली लिएर दाङ गएको बस फर्कने क्रममा ट्रकसँग ठोक्किएको हो।

भदौ २३, २०८० शनिबार ०७:१९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।