कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीसहित मन्त्री र राज्यमन्त्रीले लिए शपथ

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीसहित मन्त्री र राज्यमन्त्रीले लिए शपथ

विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।

कार्कीले शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

कार्की दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन्। गत पुस २४ मा दोश्रो प्रदेशसभाको पहिलो सरकारको नेतृत्व गरेका मुख्यमन्त्रीले विश्वासकाे मत पाउन नसकेपछि असार १५ गते पदमुक्त भएका थिए।

सुरूमा माओवादीसँग गठबन्धन गरेर सरकारको नेतृत्व गरे पनि केन्द्रीय समीकरण फेरिएपछि उनले विश्वासकाे मत पाउन सकेका थिएनन्।

अहिले सर्वोच्चले उद्धव थापा नेतृत्व सरकारले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि उनी दोश्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरे।

मुख्यमन्त्री कार्कीले तीन जना मन्त्री र एकजना राज्यमन्त्री नियुक्त गरेका छन्।

तिलकुमार मेन्याङ्वो ऊर्जा, पाँचकर्ण राई वन तथा वातावरण र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका छन्।

यसैगरी सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन्। उनीहरूले पनि शपथ लिएका छन्।

भदौ २२, २०८० शुक्रबार २०:३५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।