आईसीसी प्लेयर अफ दि मन्थका लागि पाकिस्तानका दुईसहित तीन खेलाडीको नाम सार्वजनिक
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)ले अगस्ट महिनाको आईसीसी प्लेयर अफ दि मन्थका लागि तीन जना खेलाडीको नाम सार्वजनिक गरेको छ।
शुक्रबार आईसीसीले सार्वजनिक गरेको सूचीमा पाकिस्तानका दुई खेलाडी ब्याट्सम्यान बाबर आजम र स्पिन बलर शाहदाब खान तथा वेस्ट इन्डिजका निकोलस पुरन छन्।
दुई पटकको आईसीसी पुरूष प्लेयर अफ द मन्थ बाबरले अगस्ट २०२३ मा मनोनयनमा परेसँगै तेस्रो पटक पुरस्कार जित्नका लागि मैदानमा छन्।
बाबरले अगस्टमा दुई अर्धशतक र एक शतक बनाएर आफ्नो उत्कृष्ट फर्मलाई जारी राखेका छन्।
पाकिस्तानका स्टार अलराउन्डर शादाब खानले अगस्ट महिनामा ब्याट र बलको साथ महत्त्वपूर्ण योगदान दिएका छन्।
अफगानिस्तान विरुद्धको पहिलो एकदिवसीय खेलमा, ५० बलमा ३९ रन बनाएर उनले पाकिस्तानलाई २०१ रनको सम्मानजनक स्थितिमा पुर्याएका थिए।
बलको साथ, उनले अब्दुल रहमानको विकेट लिएपछि पाकिस्तानले अफगानिस्तानलाई मात्र ५९ रनमा आउट गरेको थियो।
यस्तै, निकोलस पूरन अगस्टमा भएको भारतसँगको टी–२० सिरिजमा खुब चले। उनको उत्कृष्ट पारीमा वेस्ट इन्डिजले भारतलाई जितेर छ वर्षको खडेरी तोडेको थियो।
पहिलो खेलमापूरनले ३४ बलमा ४१ रनको पारी खेलेर वेस्ट इन्डिजलाई १४९ रनसम्म पुर्याए। यो खेलमा वेस्ट इन्डिजले भारतमाथि चार रनको रोमाञ्चक जित हात पारेको थियो।
यो सिरिजको पाँच खेलमा पुरनले १४२ को स्ट्राइक रेटमा १७६ रन बनाउँदै सिरिजकै सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका थिए।
भदौ २२, २०८० शुक्रबार २०:०३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।