एसिया कप : भारत र पाकिस्तानबीचको खेलमा रिजर्भ डे, नेपाल र युएईजस्तै गरी खेलाइने
काठमाडौं : एसिया कपको सुपर फोर अन्तर्गत सेप्टेम्बर १० मा हुने भारत र पाकिस्तानबीचको खेलमा ‘रिजर्भ डे’ राखिएको छ।
यसअघि फाइनलका लागि मात्रै रिजर्भको विकल्प राखिने गरेको भए पनि यसपाली भने भारत–पाकिस्तान खेलका लागि पनि रिजर्भ डे राखिएको हो।
यद्यपि, यसबारेमा एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सार्वजनिक रूपमा घोषणा गरिसकेको छैन।
रिजर्भ डेको नियमअनुसार पहिलो दिनमै खेल सम्पन्न गर्ने प्रयास गरिनेछ। पहिलो दिनको ओभर घटाउनुपर्ने अवस्था आएको अवस्थामा दोस्रो दिन उक्त खेल त्यहिँबाट सुरू हुनेछ। पहिलो दिन वर्षाले प्रभावित भएपछि दोस्रो दिन फेरि सुरूबाटै खेल सुरू गरिने होइन।
यसअघि समूह चरणको खेलमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो भने नेपाल र भारतबीचको खेल वर्षाका कारण ओभर घटाइएको थियो।
कोलम्बोमा हुने भनिएको भारत-पाकिस्तान खेल मौसमको पूर्वानुमानका कारण आयोजक पाकिस्तान क्रिकेट बोर्डले हम्बनटोटामा गर्ने निर्णय गर्दै एसीसीलाई पत्र लेखेको थियो तर एसीसीले पीसीबीलाई इमेल गर्दै खेल पहिले जहाँ हुने तय भएको थियो, त्यहिँ गर्न निर्देशन दियो।
मौसम पूर्वानुमानका अनुसार आइतबारको खेलमा ९० प्रतिशत पानी पर्ने सम्भावना छ।
यसअघि काठमाडौंमा भएको एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र युएईबीचको खेल पनि वर्षाका कारण प्रभावित भएपछि दुई दिनमा खेलकाे नतिजा आएको थियो।
पहिलो दिनमा युएईले टस हारेर पहिला ब्याटिङमा तानिएको थियो। त्यो दिन युएईको नौ विकेट गएपछि वर्षा भएर खेल रोकिएको थियो। त्यसपछि बाँकी रहेको खेल भाेलिपल्ट भएको थियो। सो खेल जितेर नेपालले एसिया कप खेलेकाे हो।
भदौ २२, २०८० शुक्रबार १९:०३:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।