म्यानमारसँग गोलरहित बराबरीमा रोकियो नेपाल, अञ्जन विष्ट पेनाल्टीमा चुके
काठमाडौं : पेनाल्टीमा चुक्दा नेपाल मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग गोलरहित बराबरीमा रोकिएको छ।
फिफा फ्रेन्डली अन्तर्गत म्यानमारमा भएको खेलको ५८औं मिनेटमा नेपालले पाएको पेनाल्टी म्यानमारका गोलकिपर क्यान सजिन फियोले रोके।
नेपालका लागि अञ्जन विष्टले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन्।
पेनाल्टी बक्सभित्र म्यानमारका डिफेन्डरले बल रोक्दा ह्यान्ड बल भएपछि नेपालले पेनाल्टीको मौका पाएको थियो।
पहिलो हाफमा दुवै टिमले केही मौका बनाए पनि दुवै टिमले गोल गर्न सकेका थिएनन्।
फिफा वरीयतामा आफूभन्दा १५ स्थान माथिको म्यानमारसँग यसभन्दा अघि नेपालले २ खेल खेल्दै दुवै खेलमा हार बेहोरेको थियो।
नेपाल फिफा वरीयतामा १७५औं स्थानमा छ भने म्यानमार १६०औं स्थानमा छ। नेपालले दोस्रो खेल सोमबार खेल्नेछ।
भदौ २२, २०८० शुक्रबार १८:४२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।