कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, सपथ आजै हुने

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, सपथ आजै हुने

काठमाडौं : कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन्। 

कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हुन्। 

उनले आजै पद तथा गोपनियताको शपथ लिने तयारी गरेका छ्न।कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न बिहीबार सर्वोच्च अदालतले कोशीका प्रदेश प्रमुख परशुराम खापुङका नाममा परमादेश जारी गरेको थियो। 

सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, डा.नहकुल सुवेदी र डा. कुमार चुडालको पूर्ण इजलासले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

गत साउन १७ गते मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिनेक्रममा प्रदेश सभाको अध्यक्षता गरिरहेका ईस्राइल मन्सुरीको पनि मत लिएपछि एमाले नेता कार्की सर्वोच्च पुगेका थिए। 

संविधान जारी भएपछि सर्वोच्चको परमादेशबाट सरकार बनेको यो दोस्रो घटना हो। यसभन्दा अगाडि पनि नेपालमा एक पटक सर्वोच्चको परमादेशबाट सरकार निर्माण भइसकेको छ। 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवानपनि सर्वोच्च अदालतको परमादेशबाटै २०७८ असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए। 

भदौ २२, २०८० शुक्रबार १८:०६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।