प्रमोद खरेलले जिते प्रतिलिपि अधिकारको मुद्दा, लिला शर्मा रेग्मी र सुवास रेग्मी दोषी ठहर

प्रमोद खरेलले जिते प्रतिलिपि अधिकारको मुद्दा, लिला शर्मा रेग्मी र सुवास रेग्मी दोषी ठहर

काठमाडौं : जिल्ला अदालत काठमाडौंले प्रतिलिपि अधिकार उल्लंघनको विषयमा विन्धवासिनी म्यूजिक प्रा.लि.का सञ्चालकद्धय लिला शर्मा रेग्मी र सुवास रेग्मीलाई दोषी ठहर गरेको छ।

बिहीबार जिल्ला अदालतका न्यायाधीश उत्तम सिलवालको एकल इजलासले उनीहरूलाई प्रतिलिपि अधिकार उल्लंघनको विषयमा दोषी ठहर गरेको हो।

तीन वर्षअघि गायक खरेलले आफूमा निहीत प्रतिलिपि अधिकारको विन्ध्यवासिनीले दुरूपयोग गरेको भनी प्रहरीमा जाहेरी दिएका थिए। त्यसैको आधारमा सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध मुद्दा चलाएको थियो।

गायक खरेल र विन्धवासिनीबीचको विवाद तत्कालको भने होइन। १३ वर्षअघि गायक खरेलले ‘प्रणय’ नामक एउटा एल्बम सार्वजनिक गरेका थिए। यो एल्बम विन्ध्यवासिनीले प्रमोदसँग ४ लाख १० हजार रुपैयाँमा किनेका थियो।

किनेको समयमा एल्बमको सर्वाधिकार पाँच वर्षसम्म विन्ध्यवासिनीकै हुने र त्यसपछि गायक खरेलको हुने सम्झौता  भएको थियो।

उनीहरूको सम्झौतापत्र २०७१ सालको अन्तिमतिर सकिएपछि विवाद सुरू भएको थियो। गीत हिट भएपछि गायक प्रमोद खरेल स्टेजमा जम्न थाले। यसपछि दुवै पक्षले आ-आफ्नो एल्बम भन्दै जिकिर गरे।

पाँच वर्षपछि गायक प्रमोदले कम्पनीका सञ्चालकसँग एल्बमको सर्वाधिकार मागेपछि विवादले उग्र रूप लिएको थियो। सहमतिअनुसार नै आफ्नो सर्वाधिकार खोजेको प्रमोदको जिकिर थियो।

प्रमोदको मागलाई विन्धवासिनीका सञ्चालक रेग्मीले वास्तै नगरी उल्टै प्रमोदविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। उजुरीमा प्रमोदले आफ्नो कम्पनीको अनुमतिविना स्टेजमा गाउँदै हिँडेको भन्दै विध्यवासिनी म्युजिकले १ करोड क्षतिपूर्ति माग गरेको थियो।

रेग्मीले उजुरी हालेपछि प्रमोदले पनि कानूनी बाटो रोजेका थिए। सोही अनुसार प्रमोदले मुद्दा जितेका हुन्। 

भदौ २२, २०८० शुक्रबार १७:५५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।