निजामती सेवासम्बन्धी विधेयक छिटै पारित हुन्छ : प्रचण्ड

निजामती सेवासम्बन्धी विधेयक छिटै पारित हुन्छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित हुने बताएका छन्।

२० औं निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले बिहीबारमात्र मन्त्रिपरिषद्ले विधेयक संसद्मा पठाउने निर्णय गरेको बताउँदै राजनीतिक दलहरूको सहमतिबाट संसद्ले उक्त विधेयक यथाशक्य छिटो पारित गर्ने उल्लेख गरे।

उनले भने, ‘देशका ठूला राजनीतिक परिवर्तनमा तपाईं निजामती कर्मचारीहरूको पनि महत्वपूर्ण भूमिका रहिआएको छ। देशको विषम परिस्थितिमा राज्य सञ्चालनदेखि विकास निर्माण सेवा प्रवाह र सङ्क्रमणकालीन व्यवस्थापनमा निजामती प्रशासनले पुर्याएको योगदान महत्वपूर्ण छ।’

उनले राजनीतिक परिवर्तनका निम्ति सङ्घर्ष गरेका जनतालाई अहिले शासन व्यवस्थामा आएको परिवर्तनको लाभांश दिनुपर्ने जिम्मेवारी र चुनौती दुवै रहेको बताए।

‘यसो हुन सके मात्रै लोकतन्त्र बलियो हुन्छ, राज्यप्रति नागरिकको भरोसा र विश्वासमा पनि अभिवृद्धि हुँदै जान्छ, सामाजिक न्याय सुशासन र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही काम गर्नु पर्दछ र गर्दै आएको पनि छ,’ प्रचण्डले थपे।

भदौ २२, २०८० शुक्रबार ११:४२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।