नेपालको महिला विश्वकप खेल्ने सपना यो पटकलाई पनि सपनामै सीमित

नेपालको महिला विश्वकप खेल्ने सपना यो पटकलाई पनि सपनामै सीमित

काठमाडौं : नेपालको महिला टी-२० विश्वकप खेल्ने सपना यो पटकलाई सपनामै सीमित भएको छ। आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपाल थाईल्यान्डसँग ४६ रनले पराजित भयो।

यो हारसँगै नेपाली राष्ट्रिय महिला टिमको सन् २०२४ मा हुने टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना पनि सकिएको छ। जसको अर्थ यो पटकलाई पनि महिला विश्वकप खेल्ने नेपालको योजनामा पूर्णविराम लागेको छ।

आजको खेलमा थाईल्यान्डलाई हराउन सकेको भए नेपाल विश्वकप एसिया क्षेत्र छनोटबाट ग्लोबल छनोटमा पुग्न सफल हुन्थ्यो। जहाँबाट विश्वकप एक प्रतियोगिता मात्र टाढा थियो। 

तर पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा पुगेर इतिहास रच्ने र विश्वकपको ढोका खोल्ने योजना यो पटक पनि विफल भयो। 

यसअघि जस्तै नेपालको विश्वकप छनौट यात्रा यो पटक पनि एसियामै रोकियो। विश्वकपको ग्लोबल छनोट सन् २०१३ देखी सुरुमा हालसम्म नेपालले त्यस प्रतियोगिताको अनुभव लिन पाएको छैन।

समूह चरणका पाँच खेलमा अपराजित नेपाल निर्णायक खेलमा आएर भने चुक्यो। खराब ब्याटिङका कारण थाईल्यान्डले दिएको १०६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अल आउट भयो।

नेपालका कुनै पनि ब्याटरले गतिलो स्कोर बनाउन सकेनन्। टिमका लागि कविता कुँवरले बनाएको १७ रन नै सर्वाधिक हो।

नेपालका आठ खेलाडी दोहोरो रन नै नबनाउँदै पेभिलियन फर्किए। ओपनर काजोल श्रेष्ठ र कप्तान रुविना क्षेत्रीसहित तीन ब्याटर त डक आउट भएका थिए।

नेपालले समूह चरणमा लगातार चार खेल जितेको थियो भने वर्षाको कारण यूएईसँगको खेल रद्द हुँदा अंक बाँडेको थियो।नेपालले बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट, मलेसियालाई ५ रन र कतारलाई ९ विकेटले हराएको थियो।

यी खेलहरू जित्नमा नेपाललाई ब्याटिङभन्दा पनि सानदार बलिङले ठूलो साथ दिएको थियो।

थाईल्यान्डविरुद्ध भने नेपालको बलिङमा पनि धार नदेखिंदा टस हारेर पहिले ब्याटिङ गरेको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १०५ रन बनायो।

जसका लागि खोन्चारोएनकाइले ६३ बलमा ४ चौकासहित सर्वाधिक ५९ रनको योगदान दिइन् भने चान्थमले ३१ रन जोडिन्। यी दुईले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए।

भदौ २२, २०८० शुक्रबार ११:२५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।