नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित

नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित

काठमाडौं : आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ। 

यस हारपछि नेपालको ग्लोबल क्वालिफायर पुग्ने लक्ष्यमा समेत पूर्णविराम लागेको छ। 

मलेसियामा थाइल्याण्डले दिएको १०६ रन लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रनमै अलआउट भयो।

नेपालका लागि कविता कुँवर अविजित रहँदै सर्वाधिक  १७ रन बनाइन्।   कविता जोशी र अप्सरी बेगमले समान १० रन जोड्न बाहेक बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपाललाई अलआउट गर्न थाइल्याण्डकी ताईपत्छा पुतावोङ र ओनिचा काम्चोन्फुले ३–३ विकेट लिइन्। नातया बुताथमले २ विकेट लिइन्।

त्यसअघि बांगीस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाएर १०५ रन बनाएको थियो।

भदौ २२, २०८० शुक्रबार १०:३०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।