निजामती सेवा दिवसमा ४० कर्मचारी पुरस्कृत हुँदै, सर्वोत्कृष्ट निजामती कर्मचारी भने भेटेन सरकारले

निजामती सेवा दिवसमा ४० कर्मचारी पुरस्कृत हुँदै, सर्वोत्कृष्ट निजामती कर्मचारी भने भेटेन सरकारले

काठमाडौं : आज (शुक्रबार) निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यसै अवसरमा सरकारले ४० जना निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्दैछ।

जसमध्ये १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने भएको हो। 

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जनालाई एक लाख रुपैयाँ र निजामती सेवा पुरस्कार पाउने ३० जनालाई ५० हजार रुपैयाँ समेत प्रदान गरिनेछ। 

तर यो वर्ष पनि सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी भने भेटेन। २ लाख रुपैयाँ पुरस्कार राशि रहेको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार नदिइएको यो सातौं वर्ष हो।

बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सरकारले पुरस्कार पाउने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ। 

नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि वि. सं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो।

वि. सं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो।

हाल देशमा करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन्।

मन्त्रिपरिषद्को निर्णयअनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरूमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री कार्यालय सिंहदरबारका सहसचिव बुद्धबहादुर गुरुङ, सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल, रामग्राम नगरपालिका नवलपरासी पश्चिमका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का रहेका छन्।

त्यसैगरी कानुन मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछाने र मालपोत कार्यालय खाँदबारीका मालपोत अधिकृत चन्द्रप्रसाद मिश्र पनि पुरस्कृत हुँदैछन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका कम्प्युटर अधिकृत सुनिल कुमार केसी, कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मीकृष्ण हमाल र आन्तरिक राजश्व कार्यालय हेटौंडाकी नायब सुब्बा शुभलक्ष्मी लामाले पनि उत्कृष्ट निजामती सेवा पुरस्कार पाउँदै छन्।

 

भदौ २२, २०८० शुक्रबार ०८:०२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।