‘बीपीको विचारमा संविधान बन्यो, कांग्रेस कसरी च्यूत भएको हुन्छ र?’
राजनीति र साहित्यमा छुट्टा–छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुन् बीपी कोइराला। साहित्यमा राजनीतिको ठाडो प्रयोग नगरी कलात्मक ढंगले प्रयोग गर्ने कोइरालाका साहित्य पढ्दा उनी राजनीतिक दलमा समेत आबद्ध छन् भन्ने खुट्याउन गाह्रो पर्छ।
सिग्मण्ड फ्रायडको यौन-मनोविश्लेषणात्मक सिद्धान्तबाट समेत प्रभावित भएका कोइराला आफूलाई साहित्यमा स्वच्छन्दतावादी रहेको बताउने गर्थे। उनको ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘सुम्नीमा’, ‘नरेन्द्र दाइ’, ‘हिटलर र यहुदी’ उपन्यास प्रकाशित छन् भने ‘श्वेत भैरवी’ र ‘दोषी चष्मा’ कथा संग्रह पनि प्रकाशित छन्। कोइरालाका आत्मवृतान्त र जेल जर्नेल पनि प्रकाशित छन्। कोइरालाका राजनीतिक विचारधारासँग नजिक नभएकाहरू पनि साहित्यको खुलेर प्रशंसा गर्छन्।
२०११ सालमा ‘प्रगति’ पत्रिकामा छापिएको साहित्यको भनाइले बीपीले साहित्यलाई कसरी लिन्थे भन्ने प्रष्ट पार्छ। उनले लेखेका थिए ‘परिर्वतनले यो काम गरेन त्यो काम गरेन भनी गुनासो गरेर लेखिएको मानव भावनालाई नछुने साहित्य पलायनवादी साहित्य हो। साहित्यमा भावना प्रधान हुन्छ, भावना नै छैन भने बालुवा पेलेर तेल निकाल्न नसकिएजस्तै साहित्यको मूल फुट्न सक्दैन।’
राजनीतिमा उस्तै प्रष्ट विचार भएका कोइराला आर्थिक विकासमा समाजवादी विचारधारा राख्थे। व्यक्तिगत स्वतन्त्रता र आवधिक निर्वाचनका पक्षधर कोइराला कार्लमाक्र्स र गान्धी दुवैबाट प्रभावित भएको उनको राजनीतिक विचारधारा पढ्दा थाहा हुन्छ।
बीपी कोइरालाको जन्म वि.सं. १९७१ भदौ २४ गते भएको हो। ३२/३३ वर्षको हुँदादेखि नै नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेका उनले २०३९ साल साउन ६ गते निधन हुँदासम्म नेपाली राजनीतिको केन्द्रमा रहे। २००७ सालमा प्रजातन्त्र प्राप्तिका लागि जेल जीवन भोगेका कोइराला त्यसपछिको सरकारमा गृहमन्त्री भए भने ०१६ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री पनि भए।
तत्कालीन राजा महेन्द्रले राजनीतिक ‘कू’ गरेर पञ्चायत व्यवस्था लादेपछि विभिन्न समयमा गरेर कारागारमा १२ वर्ष जीवन बिताए। राजनीति र साहित्य एकसाथ अगाडि बढाए। जेल जीवनमा उनले उपन्यास र कथा लेखेर नेपाली साहित्यमा नयाँ मानक स्थपना गरे। बीपीको उपन्यास ‘सुम्नीमा’ को विरोधसमेत भयो।
साहित्यमा कुण्ठा र राजनीतिमा विचारविहीनता हुँदै गएको यो बेलामा बीपी कोइरालाको अभाव महसुस हुन्छ नै। बीपी कोइरालालाई आदर्श मान्ने नेपाली कांग्रेसले अहिले उनको राजनीतिक विचारलाई समेत लागू गरेको देखिँदैन। बीपीको निधन भएको झण्डै ४१ वर्षपछि नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव गर्दैछ।
केही समयअघि कांग्रेसको केन्द्रीय समिति बैठकमाख महामन्त्री गगन थापाले बीपी साहित्य महोत्सव गर्ने कार्यक्रम तालिका सार्वजनिक गरे। यही अनुरूप भदौ २४ गतेदेखि तीन दिनसम्म लगातार महोत्सव हुँदैछ। यसबारे तयारी सकिएको कांग्रेसले जनाएको छ।
बीपीको साहित्य पाटोलाई अकस्मात् कांग्रेसले किन सम्झियो? साहित्य महोत्सव कस्तो हुन्छ? यिनै विषयमा आधारित रहेर बीपी साहित्य महोत्सवका संयोजक एवं नेपाली कांग्रेसका सह-महामन्त्री बद्री पाण्डेसँग उकेराले गरेको कुराकानीः
बीपी साहित्य महोत्सव आयोजना गर्दै हुनुहुन्छ, तयारी कस्तो छ?
बीपी कोइरालाको जन्मजयन्ती भदौ २४ गतेदेखि बीपी साहित्य महोत्सव शुरू हुँदैछ। तीन दिनको कार्यक्रम आयोजना गरेका छौँ। तीनै दिन ‘कि नोट स्पीच’ छ। प्राध्यापकहरू बोल्नुहुन्छ। त्यसपछि तीनै दिन ४÷४ वटा प्यानल डिस्कसन छ। त्यसको अलवा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ र विभिन्न झाँकीहरू पनि देखाउँदै छौँ।
बीपी बित्नुभएको ४१ वर्ष भइसक्यो, बीपीको साहित्यलाई कांग्रेसले सम्झनुपर्ने बाध्यता आइलाग्यो या आवश्यकता?
ठ्याक्कै बिर्सेको त होइन। बीपीको स्मृतिमा वर्षको दुईवटा कार्यक्रम त हुने गरेकै हो। केन्द्रीय समिति र भातृसंस्थाले पनि आयोजना गर्दै आएका छन्। यसपालि भने अलि गहिरिएर बीपीको साहित्यक विचार मन्थन हुनुपर्छ भनेर आयोजना गरेका हौँ।
बीपीको राजनीतिक विचारधारा परिमार्जन गर्नुपर्ने चाहिँ भएको होइन। अहिलेको संविधानमा समाजवादउन्मुख पनि लेखेका छौँ, व्यक्तिगत स्वतन्त्रताको कुरा पनि उठाएका छौँ। बीपीको विचारबाट नेपाली कांग्रेस च्यूत भएको होइन बीपीको विचारमा चाहिं संविधान बनेको हो।
यसपालिको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टी सृदृढिकरणको लागि विभिन्न कार्यक्रम अघि सारेको छ। हामीले युवा पुस्तालाई केन्द्रीत गरेर पोलीसी ह्याकाथुन गरेका थियौँ। बीपी साहित्य महोत्सव गर्नुको कारण चाहिँ बीपी साहित्यक पाटोलाई कसरी हेर्ने भनेर विचार भर्नको निम्ति नै हो।
राजनीतिमा त बीपीलाई कांग्रेसले आफ्नै मान्छ। साहित्यको पाटो यसपटक सम्झिनुभयो। साहित्य राजनीति भन्दा बृहत पाटो हो। बीपीको राजनीतिक विचार भन्दा इतर विचार राख्नेहरू पनि उहाँको साहित्यलाई आफ्नो ठान्छन्। तपाईंहरूले वक्त्ताहरू छनौट गर्दा साहित्यको वृहत पाटोतिर जानु भएको छ की के छ?
यो कार्यक्रमको संयोजनको जिम्मा नेपाली लेखक संघलाई दिएका थियौँ। कांग्रेस निकट पनि हो यो संस्था। त्यस्तै २०६३ सालपछि निरन्तर कविता वाचन गरेका थियौँ हप्ताको एकपटक। ती साथीहरू पनि जोडिनुभएको छ। बीपी यति बहुआयमिक व्यक्तित्व की शुरुवातमा एकसय वटा विषय छनौट भएको थियो। त्यसपछि एक तिहाइमा झर्याे। पछि हामीले १२ वटामा झार्याैँ। समोबशीताको मूल मन्त्रलाई बिर्सेका छैनौँ।
त्यस्तै साहित्य भनेको बृहत पाटो नै हो। हामीले चार भागमा बर्गीकरण गर्यौँ। ए, बी, सी र डि भनेर। ए भनेको कांग्रेस पनि होइनन् कम्युनिष्ट पनि होइनन्, बी भनेको वामपन्थी विचारधारा राख्ने, सी भनेको कांग्रेस र डी भनेको कांग्रेसको विचारधारासँग नजिक तर पार्टी सदस्य होइन।
यसरी सबै विचारधारालाई बोलाएका छौँ। सबै विद्वानहरूको सहभागिता हुन्छ। उपत्यकाका जनप्रतिनिधिलाई बोलाएका छौँ। पुस्तकको स्टलहरू राखेका छौँ। बीपी साहित्य मात्रै नभएर प्रजातन्त्रभन्दा इतर विचार राख्नेको समेत पुस्तकहरू हुन्छन्। खासमा यो महोत्सव आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको नै गर्ने हो। यसपाली हामीले भारतीय प्राध्यापकलाई बोलाएका छौँ। बीपीलाई एउटा देश एक भाषा र एक पार्टीमा सीमित गर्ने भन्ने कुरै आउँदैन।
बीपीको परिकल्पनाभन्दा बाहिर जान जरुरी छैन। उहाँको परिकल्पनालाई कार्यक्रम ल्याउन चाहिँ आवश्यक छ। समयसापेक्ष भने बनाउन जरुरी छ। अहिलेको अवस्थामा बीपीको भन्दा अर्काे विचार ल्याउन आवश्यक पनि छैन।
पर्यावरण, नारी, मधेस, परिवारको दृष्टिकोण लगायतका १२ वटा शीर्षक दिनुभएको छ। बीपीलाई संसार चिनाउने भन्दा पनि कांग्रेसीले नै बीपीलाई नचिन्ने अवस्थामा पुगेर पनि होला नि होइन?
हो हो ठीक हो। एकदमै सही हो। हामी कांग्रेसीले पनि बीपी कोइरालालाई चिन्नुपर्नेछ। आफ्नो नेता भनेर मात्रै भएन उहाँको विचारहरू मनन गर्नुपर्याे। उहाँको विचार गहिराइमा गएर बुझाउन र नयाँ पुस्तालाई उहाँको बहुआयमिक पाटोबारे जानकारी दिने बाटो पनि हो। विचारमा घोत्लिने, अध्ययन अनुसन्धान गर्ने भन्दा पनि हामी प्रचारात्मक संस्कृतिमा गएका छौँ। यस्तो साहित्य महोत्सवहरू पठन संस्कृतिलाई बढावा दिनको लागि पनि हो।
नेपाली कांग्रेसलाई बीपीको बाटो छोडेको, बीपीको समाजवाद नै छोडेर उदारवादको प्रणेता भएको भन्ने आरोप लाग्छ, राजनीतिक विचारमा चाहिँ बीपीको विचार पुर्नविचार अथवा परिमार्जन गर्नुपर्ने अबस्था आएको हो?
केही त्रुटी अवश्य भएको हो। हामीले हाम्रो क्रियाकलाप सुधार्नुपर्ने चाहिँ हो। भ्रष्टचार नियन्त्रण र सुशासन कायम गर्नुपर्ने हो। बीपीको राजनीतिक विचारधारा परिमार्जन गर्नुपर्ने चाहिँ भएको होइन। अहिलेको संविधानमा समाजवादउन्मुख पनि लेखेका छौँ, व्यक्तिगत स्वतन्त्रताको कुरा पनि उठाएका छौँ। बीपीको विचारबाट नेपाली कांग्रेस च्यूत भएको होइन बीपीको विचारमा चाहिं संविधान बनेको हो। शुद्ध पुँजीबादी भन्ने मुलुकले पनि स्वास्थ्य बीमाको धारणा ल्याउने, समाजवादी अझ साम्यवादी मुुलुक भनिएको चीनले पनि व्यक्तिगत सम्पत्ति राख्न पाउने कानून ल्याउने। यसले त बीपी कोइरालाको लोकल्याणकारी राज्यलाई समेट्छ हैन र? त्यसकारण म के भन्छु भने, बीपीको विचार धारा झन् सान्र्दभिक हुँदै गएको देखिन्छ विश्वमा नै।
कांग्रेसलाई नजिकबाट चियाउनेले दुई थरी कुरा भन्छन्, पहिलो कांग्रेसले उदारवाद व्यवस्था लागू गर्याे जसले गर्दा मुुलुकको ढुकुटी बलियो भयो, दोस्रो थरीले कांग्रेसले सबै बिगारेको हो भन्ने पनि छन्। आर्थिक नीतिमा कांग्रेसले बीपीको विचार नलिएकै देखिन्छ। गत महाधिवेशनमा गगन थापाले सामाजिक न्याय सहितको अवधारणा अघि सार्दा कांग्रेसले बीपीको विचारलाई छोड्न खोजेको भन्ने समालोचना भएको थियो हो?
२०४८ सालपछि कांग्रेसले घाटामा गएको संस्थानहरू निजीकरण गर्यो। घाटामा गएपछि निजीकरण गर्नुको बाध्यता थियो। मलाई लाग्छ यो आरोपलाई खण्डन गर्न तथ्य र तर्कमा कांग्रेसले स्वेतपत्र नै जारी गर्नुपर्छ। सधैँ घाटामा गइरहेका उद्योग जनताको कर तिरेर कति पाल्ने? कांग्रेसले निजी क्षेत्रलाई किन पनि प्रोत्साहित गर्छ भने राज्यको ढुकुटी त चाहियो। पूर्व अर्थमन्त्री महत (डा.रामशरण महत) भन्ने गर्नुहुन्छ सामाजिक सुरक्षाको कार्यक्रम ल्याउन पनि त आखिर ढुकुटी चाहियो नि! लगानीमैत्री वातावरण भए युवाले आफ्नो ज्ञान सीप प्रयोग गरेर मुनाफा कमाउँछन्। राज्यलाई कर तिर्छन् आवश्यकता त अनुगमनको हो।
हामीहरूमा अध्ययनमा कमी छ। भौतिक दुनियाँमा अल्झेका छौँ। विचार मन्थन गरेका छैनौँ। भौतिक उन्नतितिर मात्रै सोचेका छौँ तर भौतिक उन्नतिका लागि कस्ता विचारधारा आजश्यक पर्छ, त्यतातर्फ हाम्रो ध्यान गएको देखिँदैन।
बीपीको समाजवाद र कम्युनिष्टहरूले भन्दै आएको समाजवाद फरक हो। तर कतिपयले होइन पनि भन्छन् यसलाई कसरी हेर्नुहुन्छ?
बीपीका विचारधारा पढ्दा उहाँले गणितीय भाषामा भन्नुभएको छ। समाजवादमा प्रजातन्त्र जोड्यो भने प्रजातान्त्रिक समाजवाद हुन्छ। समाजवादबाट प्रजातन्त्र हटाइदियो भने साम्यवाद हुन्छ। आर्थिक स्वतन्त्रता र अवाधिक निर्वाचन त प्रमुख कुरा हो नि!
अहिले राजनीतिक दलहरूमा विचार नभएकाले सरकार बनाउँदा गर्नुपर्ने गठबन्धन निर्वाचनअघि नै गर्छन् भन्ने आरोप लाग्छ। बीपीपछिको पुस्तामा विचारविहिनता भएको हो?
चुनावी गठबन्धन ट्याक्टिस मात्रै थियो। अहिले हामीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका छौँ। माओवादीसँग नमिल्दा माओवादी एमालेसँग मिल्ने भयो। सत्तामा नगइ काम गर्न सक्दैनथ्यौँ बाध्यतामा पनि भयाैँ। बरु हामीले मन्त्रीहरूको काममा निगरानी गर्ने हो। विचार शून्यतामा पुग्यौँ भन्ने चाहिँ होइन।
बीपीपछिको पुस्ताले विचार भर्न नसकेको त हो नि?
बीपीपछिको पुस्ताले बीपीको विचारलाई रिभिजिट गरे हुन्छ। उहाँले समाजवादको परिकल्पनामा दुहुनो गाई, खेत र केटाकेटीको शिक्षा तथा स्वास्थ्यको कुरा गर्नुभयो। त्यस्तै समावेशिताको विचार ल्याउनु भयो। उहाँको विचारमा दुरदृष्टि देखिन्छ। बीपीको परिकल्पनाभन्दा बाहिर जान जरुरी छैन। उहाँको परिकल्पनालाई कार्यक्रम ल्याउन चाहिँ आवश्यक छ। बीपीको विचारलाई परिमार्जन पनि गर्नुपर्दैन। समयसापेक्ष भने बनाउन जरुरी छ। अहिलेको अवस्थामा बीपीको भन्दा अर्काे विचार ल्याउन आवश्यक पनि छैन। उहाँले सामाजिक सुरक्षा, व्यक्तिगत स्वतन्त्रता रोजगारदेखि कल्याणकारी राज्यको परिकल्पना गर्नुभएको छ अब कार्यक्रम चाहिँ चाहिएको हो।
२०१५ सालमा चुनाव भएपछि सदन १६ सालमा बस्यो। बीपीले आफ्ना सांसदहरूलाई तालिम दिनुभएको थियो रे प्रश्न सोध्नु भनेर। अहिले त ह्वीपको नाममा प्रश्न बन्देज गर्ने, प्रश्नोत्तर प्रधानमन्त्रीसँग गरेता पनि आलोचनात्मक नहुने, सांसदहरूको अध्ययन कम भएको की प्रधानमन्त्री अथवा पार्टीमा प्रश्न सोध्दा लाभको पद पाइँदैन भनेर डराएका?
बीपीले त पत्रकारलाई समेत आलोचना गरेर मेरा कमजोरी देखाइदेऊ भनेर पत्रिका निकाल्न सहयोग गर्नुभएको थियो रे। आलोचनाका लागि गरेको आलोचनालाई भन्दा तथ्य र तर्कमा रहेको आलोचनालाई हाम्रो पुस्ताले नसुनेको हो की जस्तो मलाई पनि हुन्छ। नेतृत्वको कार्यशैलीलाई प्रश्न उठाउने आलोचना गर्ने संस्कृति नै भएन। बीपीले परिकल्पना गर्नुभएको प्रजातन्त्र हामीले अभ्यास गर्न सकेका छैनौँ।
परिवारसँगको उहाँको व्यवहार उस्तै। पठन उस्तै। स्मरणशक्ति उस्तै। राजनीति र साहित्यमा उस्तै। राजनीतिमा प्रजातान्त्रिक उहाँ साहित्यमा अराजकतावाद भन्नुहुन्थ्यो। एकै व्यक्तिको बहुआयमिक व्यक्तित्व भनेर चिन्छु।
तपाईंहरूको पार्टीको केन्द्रीय समिति बैठकको लाइभ हेर्दा प्रश्न, आलोचना भन्दा पनि घोचपेज जस्तो देखियो सभापतिले जवाफ पनि दिनुभएन। लोकतान्त्रिक पार्टीमा असुहाउँदो भएन?
तपाईंले भन्नु भएजस्तो हामीहरूमा अध्ययनमा कमी छ। भौतिक दुनियाँमा अल्झेका छौँ। विचार मन्थन गरेका छैनौँ। भौतिक उन्नतितिर मात्रै सोचेका छौँ तर भौतिक उन्नतिका लागि कस्ता विचारधारा आजश्यक पर्छ, त्यतातर्फ हाम्रो ध्यान गएको देखिँदैन। हाम्रो पार्टीमा पनि आलोचना समालोचना हुनुपर्दथ्यो, तर भएन। अध्ययन गर्नुपर्ने देखिन्छ।
बीपी कोइराला, जसले पेचिला प्रश्नहरूको उत्तर दिनुहुन्थ्यो रे। त्यस्तो सभापति पाएको कांग्रेसमा अहिले अभाव महसुस हुँदैन?
‘हिटलर र यहुदी’ उपन्यास उहाँले गोरखापत्रको कटिङ नलेखेको ठाउँमा लेख्नुभएको रे जेलमा। त्यसमा उहाँले जसरी पानी जहाजको व्याख्या गर्नुभएको छ त्यो त गाह्रो कुरा हो नि! बीपीले महिलालाई केन्द्रमा राखेर लेख्नुभएको उपन्यास पढेर महिला लेखकहरूले पुरुष भएर कसरी महिलाको महसुस गरेर लेख्न सक्नुभएको होला भनेर भन्नुहुन्थ्यो। त्यस्तै राजनीतिमा अन्तर्राष्ट्रिय छवि उहाँको उच्च। त्यतिबेला सोसालिष्टहरूको अन्तर्राष्ट्रिय संस्थाको उपाध्यक्ष पनि हुनुभयो। व्यक्तित्वले प्रभावित पार्न सक्नुभयो। एक व्यक्तिमा अथाह गुण चाहिँ पक्कै पनि प्रशंसनीय कुरा हो।
तपाईं त ४३ सालमा काठमाडौं आउनुभयो। प्रत्यक्ष भेट्न नपाएता पनि व्यक्तिगत रूपमा बीपीलाई कसरी चिन्नुहुन्छ?
नभेटेको भएर चिनेँ जस्तो पनि लाग्दैन। उहाँले प्रत्येक व्यक्तिको प्रश्नको उत्तर दिएर पठाउनु हुन्थ्यो रे। परिवारसँगको उहाँको व्यवहार उस्तै। पठन उस्तै। स्मरणशक्ति उस्तै। राजनीति र साहित्यमा उस्तै। राजनीतिमा प्रजातान्त्रिक उहाँ साहित्यमा अराजकतावाद भन्नुहुन्थ्यो। एकै व्यक्तिको बहुआयमिक व्यक्तित्व भनेर चिन्छु।
तपाईंहरूको पार्टी कार्यालयमा रहेको पुस्ताकालयको रिपोर्टिङ गर्दा दयनीय अवस्था थियो, अभाव महसुस हुँदैन?
पुस्तकालयको नयाँ डिजाइन गरेका छौँ, सायद छिट्टै बनाउँछौँ।
अन्त्यमा बीपी साहित्य महोत्सवबारे केही भन्नुहुन्छ?
सबै विचारधारा बोक्ने उत्सुकतापूर्वक आउनुहोला। पार्टी कार्यालयमा गरेता पनि वीपी सबैको हो। ज्ञान आर्जनको लागि महत्वपूर्ण समय हुनसक्छ। सबैलाई आमन्त्रण गर्न चाहन्छु।
भदौ २१, २०८० बिहीबार २०:४२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।