४८ घण्टाभित्र हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश (संक्षिप्त आदेशसहित)

४८ घण्टाभित्र हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश (संक्षिप्त आदेशसहित)

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्। सर्वोच्च अदालतले ठूलो दलको नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको छ।

सर्वोच्चको पूर्ण इजलासले बिहीबार मुख्यमन्त्री थापा नेतृत्वको सरकारलाई अवैधानिक ठहर गर्दै संविधानको धारा १६८ को ३ अनुसार ४८ घण्टाभित्र ठूलो दलको संसदीय दलको नेताको हैसियतले हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङको नाममा परमादेश जारी गरेको छ।

धारा १६८ (३) अनुसार बन्ने मुख्यमन्त्रीले प्रदेशसभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत लिन नसके पुन: अर्को सरकार गठन प्रक्रियामा जानुपर्ने हुन्छ।

कोशी प्रदेशमा एमाले ठूलो दल हो। एमालेका ४० सदस्य छन्। यस्तै नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका चार र जसपाका एक सदस्य छन्।

बहुमतका लागि ४७ सदस्य आवश्यक पर्नेमा एक सिटका कारण सत्ता पक्ष र एमाले दुवैतर्फ बहुमत नजुट्ने अवस्था आएपछि कोशीमा राजनीतिक अस्थिरता देखापरेको हो।

सुरुमा एमालेका कार्की मुख्यमन्त्री बनेका थिए। पछि कांग्रेसका थापा मुख्यमन्त्री बनेका थिए। थापालाई सभामुखको समेतले मत दिएपछि यहाँको राजनीतिक खिचलो अदालतसम्म पुगेको थियो।

भदौ २१, २०८० बिहीबार १९:१८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।