चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा नियुक्त

काठमाडौं : चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.अन्जनीकुमार झा नियुक्त भएका छन्। 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. झालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। 

आयोगको उपाध्यक्षको नाम सिफारिस गर्न गठित सिफारिस समितिले आयोगको उपाध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद्मा झासँगै डा.प्रविण मिश्र र डा.श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो।

डा. झा नेपाली कांग्रेस निकट चिकित्सक हुन् भने उनी नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत हुन्।

आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको चार वर्षे पदावधि सकिन लागेपछि सरकारले आयोगका उपाध्यक्ष नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको थियो।

मन्त्रिपरिषद्को साउन १६ गतेको बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो।

चिकित्सा शिक्षा ऐन, २०७५ मा आयोगको उपाध्यक्ष नियुक्तिको सिफारिसका लागि तीन सदस्यीय समिति रहने व्यवस्था छ। सोहीअनुसार मन्त्रिपरिषद्ले तीन सदस्यीय समिति गठन गरेको थियो।

समिति गठन भएपछि चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले साउन २६ गते दरखास्त आह्वान गरेको थियो।

दरखास्त आह्वानमा ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न उम्मेदवार छनौट सम्बन्धी कार्यविधि २०८०’ को दफा-४ बमोजिम दरखास्त पेस गर्ने उम्मेदवारहरू मध्येबाट छनोट भएका योग्य तीन जना उम्मेदवारहरूको नाम चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने उल्लेख थियो।

योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र सिलबन्दी दरखास्त सिफारिस समितिको सचिवालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय समयभित्र पेस गर्नुपर्ने गरी दरखास्त आह्वान भएको थियो।

सूचनामा चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष भएपछि आयोगको नेतृत्व गर्ने र नेतृत्वदायी भूमिका बहन गर्ने सम्बन्धी चार वर्षे व्यावसायिक कार्ययोजना (प्रोफेश्नल वर्क प्लान) सहितको सोचपत्र (भिजन पेपर) दरखास्त दिंदै उम्मेदवारले पेस गर्नुपर्ने सूचनामा उल्लेख थियो।

त्यसैगरी आयोगको उपाध्यक्षका लागि दरखास्त दिने उम्मेदवार ‘नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको प्रमाण वा स्वयम् घोषणा’ गर्नुपर्ने र उच्च नैतिक चरित्र कायम गरेको प्रमाणपत्र वा स्वयम् घोषणा गरेको गर्नुपर्ने लगायतका प्रावधान राखेको थियो।

आयोगको उपाध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान भएपछि चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले भदौ १७ गतेलाई प्रस्तुतीकरण र १८ गतेलाई अन्तर्वार्ताका लागि समय तोक्दै सूचना जारी गरेको थियो।

सूचना अनुसार उपाध्यक्षका नौ उम्मेदवारहरूले व्यावसायिक कार्ययोजना सहितको सोचपत्रको प्रस्तुतीकरण सिफारिस समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तोकिएकै मितिमा पेस गरेका थिए। त्यसपछि तोकिएकै मितिमा, भदौ १७ गते उनीहरूले सोचपत्रको प्रस्तुतीकरण गरेका थिए भने १८ गते अन्तवार्ता भएको थियो।

विज्ञका रुपमा डा. भगवान कोइराला, डा. अर्जुन कार्की, डा. रामकण्ठ मकाजु र डा. किरण रेग्मीले उपाध्यक्षका उम्मेदवारहरूको प्रस्तुतिकरण हेर्नुका साथै अन्तर्वार्तासमेत लिएका थिए।

यी चार जना विज्ञले नौ जना उम्मेदवारले गरेको प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारमा मूल्याङ्कन गरी नम्बर दिएर आयोगको नाम सिफारिस समितिलाई बुझाएका थिए।

त्यसपछि लोक सेवा आयोगको संयोजक रहेको नाम सिफारिस गर्न गठित तीन सदस्यीय सिफारिस समितिले मन्त्रिपरिषद्मा तीन जना उम्मेदवारको नाम पठाएको थियो। ती तीन जनामध्ये डा. झालाई बिहीबार बसेको मन्त्रिपरिषद्ले आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

सम्बन्धित समाचार:

भदौ २१, २०८० बिहीबार १८:०४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।