मायादेवीको कसम खाएर ल्यारक्यालले भने- ‘लुम्बिनीमा लिन होइन, दिन आएको हुँ’

मायादेवीको कसम खाएर ल्यारक्यालले भने- ‘लुम्बिनीमा लिन होइन, दिन आएको हुँ’

बुटवल : लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले लुम्बिनी बनाउन आफू आएको भन्दै सहयोग गर्न सबैसँग आग्रह गरेका छन्।

उनले लुम्बिनी आफ्नो धार्मिक आस्थाको धरोहर भएको भन्दै स्थानीय, बुद्धिजिवी, पत्रकार र अन्य विभिन्न संघसंस्थालाई समेत साथ र सहयोग गर्न अपिल गरे।

लुम्बिनीमा रूपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारहरूसँग विहिबार परिचयात्मक तथा भेटघाट कार्यक्रम गर्दै उनले भने– ‘मेरो धार्मिक आस्थाको ठाउँ हो लुम्बिनी, ईतिहास बनाउन सँकु भनेर आएको छु। मायादेवीको कसम खाएर भनेको छु, लुम्बिनीमा लिन होइन, दिन आएको छु।’

उपाध्यक्ष लामाले लुम्बिनी गुरुयोजना आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाए। उनले आफ्नो कार्यकालमा गुरुयोजना सम्पन्न गर्ने र मायादेवी मन्दिर निर्माण गर्ने उद्देश्य रहेको बताए। मायादेवी नयाँ डिजाइन र आकर्षक बनाउनुपर्ने उनको भनाइ छ।

गुरुयोजनाको बाँकी काम, बुद्ध सर्किट निर्माण, रामग्राम, तिलौराकोट र देवदहको पुरातात्विक क्षेत्रको संरक्षण र विकासका लागि काम गर्ने गरी आफू आएकाले सहयोग गर्न पत्रकारहरुसँग उपाध्यक्ष डा. लामाले आग्रह गरे।

‘म लुम्बिनी बनाउन लड्छु, जुध्छु, भिड्छु तर, नैतिकता गुमाउँदिन’ उनले भने।

उनले लुम्बिनी गुरुयोजनाका सम्बन्धमा र कोषको कामका बारेमा विभिन्न प्रश्न र गुनासाहरु उठेको बताउँदै त्यसलाई सम्बोधन गर्ने गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए।

संविधानसभा सदस्य, पूर्व अर्थराज्यमन्त्री समेत रहेका डा. लामाले आफ्नो क्षमतालाई लुम्बिनी बनाउन खर्चिने बताए। उनले आफूले जीवन नै बुद्ध धर्मका लागि अर्पण गरेको बताउँदै बाँकी रहेको जीवन सत्कर्ममा लगाउने गरी काम गरेर देखाउन आफू लुम्बिनीको उपाध्यक्ष बनेको बताए।

विश्वका विभिन्न मुलुकबाट लुम्बिनी आउन चाहनहरुलाई अनुलुकुल वातावरण बनाउने बताए। उनले लुम्बिनीमा बौद्ध धर्म गुरुहरुको  मोलम (पूजा) जस्ता धार्मिक गतिविधि बढाएर बौद्ध पर्यटकहरुलाई आर्कषित गर्ने योजना रहेको सुनाए।

‘यो वर्ष मोलुम (पूजा)का कार्यक्रमहरू तय भइसकेको छ’, उपाध्यक्ष लामाले भने।

उनले रामग्राम र तिलौराकोटमा पनि पूजा, ध्यान र बत्ति बाल्ने ठाउँ तुरुन्तै निर्माण गर्ने बताए। धार्मिक कार्यक्रमलाई लुम्बिनीमा बढाउने गरी योजना बनाइएको समेत उनले बताए। उनले धार्मिक गतिविधिसँगै पर्यटकहरूको बसाइ लम्बिने विश्वास गरे।

उपाध्यक्ष लामाले रूपन्देही, कपिलवस्तु र नवलपरासीमा रहेका बौद्ध क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाएको बताए। उनले बौद्ध क्षेत्रको विकासका लागि आवश्यक रकम जुटाउन विश्व समुदायमा पुग्नेसमेत बताए।

‘अब ६/७ अर्बको रकम जुटाएर गुरूयोजना सकाउनु छ, अहिले देशको बजेटमा नि समस्या छ’ उपाध्यक्ष लामाले भने, ‘म बुद्ध धर्मको विश्व समुदायसँगै जोडिएको छु केही समयमा त्यो फोरममा म जानेछु र स्रोत जुटाउने कोसिस गर्नेछु।’

लुम्बिनीको जमिन, स्रोत, कर्मचारी, स्थानीय सहयोग सबै पारदर्शी बनाउने भन्दै उनले आफू कमाउन नभई लुम्बिनी बनाउन आएकाले सबैको साथ र सहयोग चाहिएको बताए।

उपाध्यक्ष लामाले गुरुयोजनामा केही परिमार्जन गर्नुपर्ने अवस्था देखिएको बताउँदै त्यसका लागि युनेस्को, विभागीय मन्त्रालय र सरोकारवाला निकायसँग परामर्शमा गरिने बताए।

‘४५ वर्षअघि केन्जो टाँगेले बनाएको योजना हो, अहिले धेरै अवस्था फेरिएको छ, त्यसका कारण पनि परिमार्जन जरुरी छ’, उनले भने।

उनले बुद्धजन्मस्थल लुम्बिनी वरिपरिका स्थानीयहरुलाई अपनत्व बनाउने गरी काम गर्ने समेत बताए। उनले यसका लागि प्रत्येक महिना स्थानीय समुदाय, संघसंस्था, पत्रकारहरुको संस्था समेतको उपस्थितीमा छलफल गर्ने बताए। उनले लुम्बिनी विकास कोषले रामग्राम, तिलौराकोट र देवदहलाई बढि केन्द्रीत गरी योजना बनाएर काम गर्ने समेत बताए।

उपाध्यक्ष लामाले जिम्मेवारी समाल्ने वितिकै रामग्राम र त्यसपछि तिलौराकोट पुगेको बताउँदै बुद्धजन्मस्थल मात्रै केन्द्रीत नहुने बताए।उनले बोर्ड सदस्यहरुलाई पनि जिम्मेवारी प्रदान गरेर सामूहिक रुपमा अघि बढ्ने योजना रहेको बताए। पदाधिकारी र कर्मचारीबीच नै बेमेल रहेको भन्दै उनले सकभर मिलाएर लैजाने कोसिस रहेको बताए।

‘नमिल्नुपर्ने कुनै कारण छैन, ऐनले जिम्मेवारी स्पष्ट तोकेको छ, त्यही अनुसार अगाडि बढ्ने हो’, उपाध्यक्ष लामाले भने।

उनले सबैको साझा सहयोगले मायादेवि मन्दिर, बुद्व सर्किट बनाउने गरि अगाडि बढने बताए। उनले कर्मचारीहरुले लुम्बिनी बनाउनका लागि धेरै काम गरेको बताउँदै केही कमजोरीलाई सुधार गर्दै जाने बताए।

उनले कार्यालयमा कुर्चि खाली नराख्न निर्देशन दिईसकेको समेत बताए। उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले नवनियुक्त उपाध्यक्षलाई लुम्बिनी बनाउने सन्दर्भमा सिंगो टिमको साथ सहयोग रहने बताए।

उनले लुम्बिनी विकास कोषले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम दुई जना उपाध्यक्षको भिजन अनुसार आएको बताए। सदस्य सचिव शाक्यले प्राचिन शाक्य गणराज्य कपिलबस्तुको तिलौराकोट दरवारलाई विश्व सम्पदा सूचीमा सूचीकरणको तयारी भइरहेको समेत बताए।

भदौ २१, २०८० बिहीबार १७:५७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।