१५ वर्षमै बैंकमा जागिरे भएका माणिकरत्न भन्छन्, ‘छ महिना लभ पर्दा कमाइभन्दा खर्च बढी भो’
‘सिस्नुपानी नेपाल’का जन्मदातामध्ये एक हुन् हाँस्यकलाकार माणिकरत्न शाक्य। बनेपाको वकुटोलमा २०२४ सालमा जन्मिएका उनी सानैदेखि केही गर्नुपर्छ भन्ने स्वभावका थिए।
त्यसैले त १२ वर्षकै उमेरबाट काम थाले, त्यो पनि पाटन औद्योगिक क्षेत्रमा। १५ वर्षको हुँदा त राष्ट्रिय बाणिज्य बैंकमै जागिर भइसकेको थिए। ४० वर्ष ३ महिना बैंकको जागिरे उनले यहि असोजमा अवकाश पाउँदैछन्।
जागिरसँगै माणिकरत्नले आफ्नो कलाकारितालाई पनि मर्न दिएनन्। कहिले बिदामा त कहिले बिदा मिलाएर रङ्गमञ्चमा अभिनय गरिरहे। हरिवंश आचार्य, चट्याङ् मास्टर, मनोज गजुरेल लगायतसँग थुप्रै चर्चित कलाकारहरूसँग उनले एउटै मञ्मा प्रस्तुति दिएका छन्।
मामाले हरिवंश आचार्यसँग भेट गराएपछि हाँस्यव्यङ्ग्यमा जम्न थालेका रहेछन् माणिकरत्न। त्यो समयमा सरकारले शनिबार र आइतबार दुई दिन बिदा दिने भएकाले अभिनय यात्रालाई निरन्तरता दिन सजिलो भएको उनी बताउँछन्।
२०४१ सालमा नेपालमा टेलिभिजन खुल्यो। त्यहि समयमा टेलिफिल्म बन्थ्यो, ‘बयान जारी छ’। त्यसमा माणिकरत्नले अभिनय गर्ने मौका पाए। त्यसले उनलाई झन् चर्चामा ल्यायो।
हाँस्यकलाकार मनोज गजुरेलको ‘लिङ्ग भेद’ नाटकमा महिला कलाकार नआएपछि उनले महिलाको भूमिकासमेत निभाए, जसका कारण त्यो समयमा दर्शकमाझ खुब लोकप्रिय बने उनी।
नेपालमा चर्चित हाँस्यव्यंग्य समूहका रूपमा चिनिएको ‘सिस्नुपानी नेपाल’को संस्थापक सदस्यसमेत रहेका उनले आफ्ना ‘हिजोका कुरा’ उकेरासँग यसरी साटे।
महिनावारी भएको महिलाको समर्थन गर्दा जागिर चट्
माणिकरत्नको मामाघर काठमाडौंको मित्रपार्क। सानैमा घर छाडेर मामाघरमा बस्न थाले। नक्सालको नन्दी रात्री हाइस्कुलमा भर्ना भए। राति पढ्ने भएपछि दिनभर फुर्सद भयो, खाली बस्न मन लागेन अनि मामासँग कुरा गरे।
मामाले पाटन औद्योगिक क्षेत्रको चप्पल कारखानामा जागिर लगाइदिए, त्यतिबेला उनी मात्र १२ वर्षका थिए। तलब थियो मासिक २७५ रुपैयाँ। मामाले त्यति मात्र गरेनन्, उनका घरछेउमै एक टुक्रा जग्गा दिएर घर पनि बनाइदिए।
विगत सम्झँदै माणिकरत्न भन्छन्, ‘त्यहाँ म मजदुरको रूपमा काम गर्थेँ, तलब २ सय ७५ रुपैयाँ थियो। मैले त्यो पैसाले पढ्न र खान र लुगाफाटो किन्न प्रशस्त पुग्थ्यो।’
माणिकरत्न चप्पल कारखानामा काम गर्न थालेको डेढ वर्ष भएको थियो। त्यहिँकी एक महिला कर्मचारी कारखाना आउँदै गर्दा महिनावारी भइछन्। लुगामा रगत लागेछ। त्यो देखेपछि कारखानाका कर्मचारीले उनलाई खिसिट्यूरी गर्न थालेछन्। त्यसको प्रतिरोधमा उत्रँदा आफूले जागिरबाट हात धुनुपरेको उनी बताउँछन्।
‘लुगामा टाटो लाग्यो भनेर फ्याक्ट्रीका कर्मचारीले उहाँलाई टिक्न बस्नै दिएनन्,’ उनले भावुक हुँदै भने, ‘ती महिलाको समर्थनमा झगडा गर्न थालेपछि मलाई त्यहाँबाट निकालियो। मलाई जागिरबाट निकाल्नुको अर्को कारणै छैन।’
चप्पल कारखानामा जागिर छुटेपछि माणिकरत्नले २०३५/३६ सालमा बिशालनगरको नापी तालिम केन्द्रमा दिनको ५० रुपैयाँ ज्यालादारीमा जग्गा नाप्ने काम गर्न थाले। उनका अनुसार त्यो समयमा पुसमाघको जाडोमा बढी नापीका काम चल्थे।
नापीको काम राम्रै चल्दै थियो। तर सन्तुष्ट भने थिएनन् उनी, अनि उनको परिवार। त्यहाँ काम गरेको केही महिनापछि उनका बुवाले राष्ट्रिय वाणिज्य बैंकमा शाखा खुल्दै गरेको कुरा पत्ता लगाए। त्यहिअनुसार बैंकमा गए उनी अनि जागिरमा लागिहाले।
‘बाणिज्य बैंकमा मेरो बुवाको साथी हुनुहुन्थ्यो। बुवाले मान्छे माग्दैछ भनेको सुनेपछि मलाई लैजानुभएको थियो,’ ४० वर्षअघिको कुरा सम्झँदै उनले भने, ‘त्यसपछि तेरो छोराले जागिर खान्छ कि खाँदैन सोध् भन्नुभयो। मैले बुवाले भन्दा पहिल्यै ‘खान्छु सर’ भनेँ। त्यहि दिन भित्र लगेर ल्याप्चे हान्न लगाउनुभयो अनि जागिरे भएँ।’
बैंकमा जागिरे हुँदा उनी १५ वर्षका थिए अनि तलब थियो, मासिक ६ सय ७५ रुपैयाँ।
बैंकमा पैसा लिन आउने माननीय सबै औँठा छाप
बैंकमा जागिर खान थालेको केही समयपछि उनलाई त्यहाँका जनरल म्यानेजर (जीएम)ले उनलाई भनेरै सरुवा गरिदिए, त्यो पनि पुतलीसडक शाखामा। मुख्य कार्यालयमा बसेर खासै प्रगति नहुने भन्दै जीएमले नै भनेपछि उनी पनि सरुवाको पत्र बोकेर हिँडे।
उनले भने, ‘जीएम डाक्टर लक्ष्मणबहादुर हमालले मलाई कहिले पुतलीसडक त कहिले मैतीदेवी शाखामा पठाइदिनुभयो। त्यसपछि फेरि एकदमै चल्ने शाखा सिंहदरबारमा। यो अरु ठाउँको शाखा भन्दा निकै भिडभाड हुने ठाउँ थियो। नेपालका माननियहरूले तलब यहि शाखाबाट झिक्थे।’
त्यहिँ काम गर्दा उनले हस्ताक्षर गर्नसमेत नजान्ने सांसदहरू रहेको थाहा पाए। उनीहरू ल्याप्चे हानेर नै तलब झिक्थे।
उनले सम्झिँदै भने, ‘जति पनि माननियहरू तलब लिन आउनुहुन्थ्यो। सबै ल्याप्चेवाला नै हुनुहुन्थ्यो। कहिलेकाँही त म उहाँहरूलाई जिस्क्याउथेँ अब त साइन हान्नुपर्छ भनेर। उहाँहरू हाँस्नुमात्रै हुन्थ्यो।’
नगद सहायकमा काम गर्दै आएका उनले सिंहदरबार आएपछि त्यो शाखाकै नेतृत्व गरे। पछि उनलाई त्यहाँबाट बालाजु शाखामा सरुवा भए।
लभ पर्दा कमाइभन्दा खर्च बढी
माणिकरत्न बालाजु शाखामा पुगेपछिका किस्सा भने निक्कै रमाइला छन्। अफिसमा काम गर्ने स्टाफले नयाँ लुगा लगाएर आउँदा खाजा खुवाउनुपर्ने प्रस्ताव राख्थे उनी।
एकदिन त्यहि शाखामा एकजना कर्मचारी सरुवा भएर आइन्। सरुवा भएर आएकी ती कर्मचारी माणिकरत्नलाई मनपर्न थाल्यो। उनलाई मात्र हैन युवतीले पनि मन पराउन थालिन् अनि उनीहरूबीच प्रेम बस्यो।
‘मेरो त्यहि कार्यरत नयाँ लेडिजसँग अफेयर चल्न थालेको थियो। उसलाई देखाउनका लागि भए पनि दिनकै जस्तो नयाँ–नयाँ लुगा किनेर लाउन थालेँ,’ उनले हाँस्दै भने, ‘नयाँ लुगा लगाएपछि मैले नै खाजा खुवाउनुपर्ने भयो। आफूले बनाएको नियमले म आफैँलाई फसायो। कमाइ भन्दा बढि खर्च भयो। उनीसँगको मेरो लभ करिब ६ महिना जति चल्यो, त्यति नै मैले खाजा खुवाउने काम गरे।’
उनका अनुसार त्यो समयमा दिनकै जस्तो लुगा किनेर कोठा भरिएका थिए। लभ छुटेपछि उनी पुरानै शैलीमा फर्किए। उनी त्यहाँ १६ वर्ष काम गरेपछि क्यासियर भएर आबुखैरेनी शाखामा सरुवा भए।
पन्ध्र वटी हेरेपछि बल्ल बिहे
प्रेम छुटेपछि उनको अर्को प्रेम गरेनन्। मागी विवाह नै गर्ने कुरा भयो। घरबाट केटी हेर भन्थे, उनी हेर्थे तर हत्तपत्त कसैलाई मन पराउँदैनथे। १४ वटा केटी हेरेपछि पन्ध्रौंको पालीमा बल्ल मन परेर बिहे भएको उनले सुनाए।
‘मैले अहिले बिहे गरेको श्रीमती १५ नम्बरमा हेरिएकी हुन्,’ उनले थपे, ‘त्यो भन्दा अघि १४ वटी हेरेको थिएँ। उतै गाउँबाट नै मागेर मैले उनलाई विवाह गरेको हो।’
भदौ २१, २०८० बिहीबार १७:२९:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।