डेंगु संक्रमणको दर गत वर्षभन्दा उकालो लाग्यो, अझै दुई महिना उच्च जोखिम
काठमाडौं : नेपालमा गत वर्ष डेंगु संक्रमणका कारण ८८ जनाको मृत्यु भयो भने ५४ हजार सात सय ८४ जनामा संक्रमण पुष्टि भएको थियो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांक अनुसार सन् २०२३ जनवरी १ (पुस १७) देखि भदौ १८ गते सम्ममा डेंगु संक्रमणका कारण १४ जनाको मृत्यु भइसकेको छ भने २३ हजार एक सय २७ जनामा संक्रमण पुष्टि भइसकेको छ।
यो त महाशाखाले सार्वजनिक गरेको तथ्यांक मात्रै हो। तर, डेंगु परीक्षण नगरेका संक्रमित कति छन् भन्ने महाशाखासँग न यकिन अध्ययन छ न त तथ्यांक नै।
गत वर्ष डेंगु संक्रमणले महामारीकै रुप लिंदा समेत सरकार भने महामारी नियन्त्रणमा चुकेकै थियो। गत वर्ष जस्तै यो वर्ष पनि गर्मी र मनसुन सुरु भएसँगै डेंगु बढ्न थालेको छ। यो वर्ष पनि डेंगु संक्रमण उच्च विन्दुमा पुगिसकेको छ। तर, सरकार भने यो वर्ष पनि डेंगु नियन्त्रणमा चुकेको देखिन्छ।
यो वर्ष डेंगुको जोखिम अझ बढी, आगामी दुई महिना खतरा
सन् २००४ मा पहिलो पटक नेपालमा डेंगु संक्रमण पुष्टि भएको थियो। त्यो बेला एक जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। त्यसपछि सन् २००५ मा डेंगु संक्रमण देखिएन। तर, सन् २००६ यता निरन्तर डेंगु संक्रमण देखिरहेको छ।
नेपालमा सन् २०२१ मा १७ हजार नौ सय ९२ जनामा डेंगु संक्रमण भएका थियो। त्यो संख्या नेपालमा डेंगु देखिन थालेपछिको सबैभन्दा उच्च थियो। त्यसयता सन् २०२२ मा गत वर्ष डेंगु संक्रमणले उग्र रुप लिएको थियो।
महाशाखाको तथ्यांक अनुसार सन् २०२३ जनवरी १ (पुस १७) देखि भदौ १८ गते सम्ममा २३ हजार एक सय २७ व्यक्ति संक्रमित भएको पुष्टि हुनु गत वर्षको यही महिनासम्मको तुलनामा साढे तीन गुणा भन्दा बढी हो। ७७ जिल्लामध्ये मुगु र हुम्ला बाहेकका ७५ जिल्लामा डेंगु फैलिएको छ।
यो वर्ष पनि डेंगु संक्रमण उकालो लागिरहेको देखिन्छ। यो वर्ष जाडो महिनामा समेत डेंगु संक्रमण रोकिएन। २०२३ को जनवरीमा एक सय तीस जनामा डेंगु संक्रमण पुष्टि भएको थियो। जब सन् २०२२ को जनवरीमा ११ जनामा संक्रमण पुष्टि भएको थियो।
त्यसैगरी यो वर्षको फेब्रुअरीमा एक सय २८ जनामा संक्रमण पुष्टि भएको थियो भने गते वर्ष यही महिनामा तीन जनामा संक्रमण पुष्टि भएको थियो। यो वर्षको मार्चमा दुई सय तीन जनामा संक्रमण पुष्टि हुँदा गत वर्ष यही महिनामा १५ जनामा संक्रमण पुष्टि भएको थियो।
यो वर्षको अप्रिलमा एक सय ५३ जनामा संक्रमण पुष्टि भएको थियो भने गत वर्ष यही महिनामा १८ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसैगरी यो वर्षको मे महिनामा एक सय ५८ जनामा संक्रमण पुष्टि भएको थियो भने गत वर्ष यो महिनामा २५ जनामा संक्रमण पुष्टि भएको थियो।
यो वर्षको जुन महिनामा भने डेंगु संक्रमितको संख्या ह्वात्तै बढेको देखिन्छ। यो वर्षको जुन महिनामा एक हजार दुई जनामा संक्रमण पुष्टि भएको थियो भने गत वर्ष यो महिनामा ९३ जनामा मात्र संक्रमण पुष्टि भएको थियो।
त्यसैगरी यो वर्षको जुलाई र अगष्ट महिनामा डेंगु संक्रमितको संख्या झन् बढ्दै गएको देखिएको छ। यो वर्षको जुलाईमा ६ हजार ६९ जना संक्रमित भएका थिए भने गत वर्ष यही महिनामा सात सय २० जना संक्रमित भएका थिए।
यो वर्षको अगष्टमा १५ हजार दुई सय ८४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। गत वर्ष यही महिनामा तीन हजार सात सय आठ जनामा संक्रमण पुष्टि भएको थियो।
अब यसपछिका महिनामा डेंगु संक्रमणले कस्तो रुप लिन्छ भन्ने विषय यकिन रुपमा अहिले नै भनिहाल्न सक्ने अवस्था देखिंदैन।
गत वर्षको सेप्टेम्बर (भदौ–असोज) महिनामा डेंगु संक्रमण उच्च विन्दुमा पुगेको थियो। गत वर्षको सेप्टेम्बरमा २७ हजार पाँच सय २९ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो। गत वर्षको असोजपछि भने बिस्तारै डेंगु संक्रमण ओरालोतर्फ लागेको थियो।
यो तथ्यांकले गत वर्षका महिनाहरूमा देखिएको डेंगु संक्रमणको तुलनामा यो वर्षका महिनाहरूको संक्रमण दर उच्च देखिएको छ। यो वर्षका अझै कम्तीमा दुई महिना डेंगु संक्रमण फैलिएर उच्च विन्दुमा पुग्नसक्ने जोखिम देखिन्छ।
त्यसैले सरोकारवाला निकायले यसमा ध्यान नदिए आगामी दुई महिना डेंगु संक्रमणले उग्र रुप नलिएला भन्ने अवस्था छैन।
गत दुई वर्षअघि दशैं तिहार सकिएर जाडो मौसम सुरु हुँदा समेत प्रकोपकै रुपमा काठमाडौंको घट्टेकुलो क्षेत्रमा डेंगु फैलिएको थियो। तर, रोग नियन्त्रण महाशाखाले भने घट्टेकुलोमा नै डेंगु फैलँदा समेत थाहा नपाएजस्तो गरेको थियो। त्यो उदाहरण हेर्दा दशैं तिहारपछि समेत डेंगुको जोखिम देखिन्छ।
महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहाल भने सुनसरी, मोरङ, झापा र धादिङ गरी चार जिल्लामा संक्रमण उच्च विन्दुमा देखिएकाले गत वर्षको तुलनामा यो वर्षको अगष्टसम्ममा समग्रमा संक्रमितको संख्या उच्च देखिएको बताउँछन्।
तर, यी चार जिल्लामा समेत बिस्तारै संक्रमण कम हुँदै गएकाले डेंगुको संक्रमण कम हुँदै जानसक्ने उनको अनुमान छ।
गत वर्ष सबैजसो जिल्लामा एकैजसो प्रकृतिले डेंगु संक्रमण फैलिएको भए पनि यो वर्ष भने यी चार जिल्लामा मात्रै धेरै संक्रमण फैलिएको डा. दाहालको तर्क छ। त्यसैले यो वर्ष संक्रमण थप उच्च विन्दुमा नपुग्ला भन्ने अनुमान रहेको उनले तर्क गरे।
यो वर्ष अन्य जिल्लामा केही दिनयता धेरै संक्रमण नबढेको देखिएको उनको दाबी छ।
‘(सुनसरीको) धरानको कारणले अगष्टमा उच्च देखियो। तर, सुनसरीको ट्रेण्ड हेर्यो भने अहिले घट्दो क्रममा छ,’ उनले भने, ‘गत वर्ष जस्तो हुँदैन कि भन्ने अनुमान छ।’ तर, विशेषगरी कार्तिक महिनासम्म नै सतर्क रहनुपर्ने डा. दाहालको सुझाव छ।
चार जिल्लामा उच्च संक्रमण, हुम्ला र मुगुमा मात्रै पुष्टि छैन
रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार यो वर्ष सन् २०२३ जनवरी १ (पुस १७) देखि भदौ १८ गते सम्ममा कोशी प्रदेशका सुनसरीमा १२ हजार आठ सय ६, मोरङमा दुई हजार दुई सय ५२, झापामा एक हजार तीन सय ५६ र बागमती प्रदेशको धादिङ जिल्लामा दुई हजार एक सय ७३ जनामा संक्रमण पुष्टि भइसकेको छ। यी सबैभन्दा धेरै संक्रमण फैलिएका जिल्ला हुन्।
त्यसैगरी काठमाडौंमा चार सय ४७, धनकुटामा तीन सय ६७, धनुषामा तीन सय ३१, संखुवासभामा तीन सय १७, कास्कीमा दुई सय ६७ र कैलालीमा दुई सय ३२ जनामा संक्रमण पुष्टि भएको छ।
कोशीमा सबैभन्दा धेरै संक्रमित
प्रादेशिक दृष्टिबाट हेर्दा यो वर्ष हालसम्म कोशी प्रदेशमा सबैभन्दा धेरै डेंगु संक्रमण फैलिएको छ। कोशी प्रदेशमा १७ हजार पाँच सय ३० जनामा र मधेस प्रदेशमा पाँच सय १९ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी बागमती प्रदेशमा तीन हजार दुई सय ७७ जनामा र गण्डकीमा ६ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ।
कर्णाली प्रदेशमा सबैभन्दा कम ४८ जनामा संक्रमण पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशमा ६ सय ८० जनामा संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांकले देखाएको छ।
तर, डेंगुले व्यक्तिको मृत्यु भइरहेको र संक्रमित हुनेको संख्या पनि बढिरहेको अवस्थामा सरकार भने डेंगु नियन्त्रणमा प्रभावकारी रुपमा सक्रिय भएको देखिंदैन। न त डेंगु नियन्त्रणमा सक्रिय हुनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रभावकारी रुपमा सक्रिय देखिन्छ न त स्थानीय निकायहरू नै डेंगु नियन्त्रणका लागि सक्रिय छन्।
बरु स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत विदेश भ्रमण, अनुगमनको स्टण्ट र कर्मचारी सरुवा जस्ता विषयमा नै रमाइरहेका छन्। तर, जनताले पाउनुपर्ने स्वास्थ्य सुविधा तथा डेंगु नियन्त्रणका लागि उनको प्रभावकारी पहल समेत देखिंदैन।
सजगता अपनाऊँ है!
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेर बहादुर पुन नेपालमा मनसुन सकिएको केही समयपछि समेत डेंगु संक्रमण देखिने गरेको बताउँछन्।
सामान्यतया जेठ, असार (जुन, जुलाई) महिनामा नेपालमा मनसुन सुरु हुन्छ। भदौपछि मनसुन सकिन्छ। केही दिनको अन्तरालमा पानी पर्दै रोकिंदै गरेको खण्डमा लामो समय जमेको पानीबाट लार्भाको वृद्धि विकास भएर लामखुट्टे फैलने जोखिम हुने डा. पुन बताउँछन्।
मानिस सक्रिय हुने समयमा नै लामखुट्टे पनि सक्रिय हुने भएकाले लामखुट्टेले टोकेको थाहा नै नहुने भएकाले सजगता अपनाउन चिकित्सकको सुझाव छ।
लामखुट्टेको लार्भा वयस्क भएर डेंगु फैलिसकेपछि झुल लगाउने जस्ता बच्ने उपाय खासै प्रभावकारी नभएको उनी बताउँछन्। त्यसैले डेंगु फैलनुअघि नै लामखुट्टेको लार्भा नष्ट गर्नेतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ।
तर, सरकार तथा सरोकारवाला निकायहरूको यसतर्फ सक्रियता भएको देखिंदैन।
विशेषगरी बिहान सूर्य उदाएपछि र बेलुका सूर्य अस्ताउनु करिब दुई घण्टाअघि समयमा लामखुट्टे बढी सक्रिय हुने गर्छ। जुन समय व्यक्तिले सक्रिय भएर दैनिक काम गर्ने समय हो। त्यसैले लामखुट्टेबाट बच्नु चुनौतीपूर्ण हुने चिकित्सक बताउँछन्।
संक्रमित लामखुट्टेले पारेको फुलमा भाइरस हुने र एउटा लामखुट्टेले त्यसको जीवनमा नौ सय वटा संक्रमित लामखुट्टे जन्माउन सक्ने हुन्छ।
खाल्डाखुल्डी तथा टायरमा पानी जम्दा डेंगुको जोखिम बढी हुन्छ। संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेको खण्डमा डेंगु सर्छ। हाल यातायात लगायतको आवतजावतका कारण हिमाली जिल्लाहरूमा समेत डेंगु संक्रमण देखिन थालेको छ।
डेंगु संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै प्रमुख उपाय हो। यो संक्रमणबाट बच्नका लागि झुल लगाएर सुत्न तथा पूरा शरीर ढाक्ने किसिमले कपडा लगाउन चिकित्सकको सुझाव छ।
दिउँसो बढी एडिस जातको लामखुट्टे सक्रिय हुने भएकाले काममा व्यस्त हुँदा समेत यो बेला लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ।
लामखुट्टेले बाँच्नका लागि कम समयमा धेरै व्यक्तिको रगत चुस्ने र छोटो समयमा नै धेरै व्यक्तिमा डेंगु सर्न सक्ने भएकाले बेलैमा लामखुट्टेका अण्डा नियन्त्रण नगर्ने हो भने महामारीकै जोखिम निम्तिन सक्ने चिकित्सक बताउँछन्।
डेंगु नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ विधि अपनाएर लामखुट्टेको अण्डा तथा लार्भा नष्ट गर्ने र पानी जम्न नदिने विधि अपनाउनु नै प्रभावकारी हुने देखिन्छ।
लामखुट्टेको वृद्धिका लागि फूल पार्ने उपयुक्त वातावरण नै गर्मीमा जमेको पानी हुने भएकाले टिनका डब्बा, टायर, खाली ड्रम जस्ता वस्तुमा पानी जम्मा हुन दिन हुँदैन।
सुक्खा ठाउँमा समेत एक वर्षसम्म लामखुट्टेका अण्ड बाँच्न सक्ने भएकाले त्यस्ता अण्डामा पानी परेपछि लामखुट्टे उत्पादन हुने बताइएको छ।
लक्षण अनुसार उपचार
डेंगु संक्रमित लामखुट्टेले टोकेको दश दिनसम्ममा लक्षण देखिन्छ। एक्कासि उच्च ज्वरो आउने र शरीर कटकटी खाने डेंगुका मुख्य लक्षण हुन्।
डेंगुको संक्रमण भएको खण्डमा टाउको दुख्ने, आँखाको गेडी दुख्ने, छालामा साना राता डाबर आउने जस्ता अन्य लक्षण पनि देखिन सक्ने डा. पुन बताउँछन्।
ज्वरो आएर शरीरका मांसपेशी कटकटी खाएको खण्डमा डेंगु संक्रमणको शंका गर्न सकिने अवस्था हुन्छ। संक्रमण भएको सुरुआती चरणमा शरीरका हाडजोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने तथा बान्ता हुने जस्ता लक्षण देखिने गर्छ।
सुरुआती चरणमा देखिने यस्ता लक्षणलाई चिकित्सकीय भाषामा ‘डेंगु फिबर’ भन्ने गरिन्छ। शरीरमा डेंगु संक्रमण फैलिएर लक्षण लम्बिंदै गएको अवस्थामा गिजा र नाकबाट रक्तश्राव हुने, पिसाब रातो हुने, दिशा कालो हुने जस्ता लक्षण देखिन सक्छन्। यस्ता लक्षण भएको भइरसको अवस्थालाई ‘डेंगु हेमोरेजिक फिबर’ भन्ने गरिन्छ।
डा. पुनका अनुसार डेंगु भाइरस संक्रमणले कडा रुप लिएको खण्डमा मिर्गौला, कलेजो, मुटु, स्नायु जस्ता अंगमा नकारात्मक असर गर्ने चिकित्सक बताउँछन्। डेंगुको संक्रमणका कारण स्वास्थ्य जटिलता बढ्दै गएको खण्डमा व्यक्तिको ज्यानै समेत जाने जोखिम हुन्छ।
लगातार बान्ता हुने, पेट दुख्ने, शरीर आलस्य हुने र रक्तश्राव हुने जस्ता लक्षण देखिए तुरुन्तै उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न चिकित्सकको सुझाव छ।
डेंगु संक्रमण भएको खण्डमा यसका विरुद्धमा प्रयोग गर्ने विशेष औषधि समेत छैन। त्यसैले लक्षणको आधारमा संक्रमितको उपचार हुने चिकित्सक बताउँछन्।
डेंगु संक्रमणका कारण हुने मृत्यु दर एक प्रतिशत भन्दा कम रहेकाले सतर्क त हुनुपर्ने तर आत्तिहाल्न भने नहुने चिकित्सकको सुझाव छ।
भदौ २१, २०८० बिहीबार १२:३३:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।