चिकित्सा शिक्षा आयोग उपाध्यक्ष छनोट : अनुचित प्रभावमा नपर्न डा. केसीले गराए सरकारको ध्यानाकर्षण

चिकित्सा शिक्षा आयोग उपाध्यक्ष छनोट : अनुचित प्रभावमा नपर्न डा. केसीले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं : डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटमा अनुचित प्रभावमा नपर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

डा. केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना विभिन्न मागका प्रतिबद्धताहरू कार्यान्वयन नभएमा सही भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने पनि जानकारी गराए।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटका लागि हाल चिकित्सा शिक्षा ऐन बमोजिमको प्रक्रिया चलिरहेको छ। त्यसै क्रममा अहिलेसम्म सिफारिस समितिले तीन जना व्यक्तिको नाम सिफारिस गरिसकेको छ।

विज्ञप्तिमा भनिएको छ:

‘सरकारले तीन जनामध्ये कुनै एकलाई छान्दा योग्यतम तथा कुनै राजनीतिक प्रभाव, दवाब, प्रलोभन वा स्वार्थको द्वन्द्वमा नपरी आयोगलाई स्वायत्त निकायका रुपमा नेतृत्व गर्न सक्ने व्यक्तिलाई नै छान्नुपर्ने हुन्छ। चिकित्सा शिक्षाका क्षेत्रमा कार्यकुशलता प्रमाणित गरेको, कुनै पनि स्वार्थ समूहसँग कुनै सम्बन्ध नभएको, विगतमा कुनै अनियमिततामा नमुछिएको व्यक्तिलाई छान्नुपर्ने हुन्छ। त्यसो नभएमा चिकित्सा शिक्षा आयोगले गत चार वर्षमा स्थापित गरेको साख तथा संस्थागत गरेको सुधार जोखिममा पर्ने हुन्छ। त्यसैले कुनै अनुचित प्रभावमा नपरी योग्यतम व्यक्तिलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनाउन सरकारको ध्यानाकर्षण गराउँछौं। त्यसो नभएर भोलिका दिनमा आयोगको कार्य सम्पादन प्रभावित भयो भने त्यसले उत्पन्न गर्ने जटिलताका लागि सरकार जिम्मेवार हुनेछ।’

‘साथै हामीले विभिन्न मागहरू राखेर यही साउन २९ गतेबाट सत्याग्रह सुरु गर्न लागेकोमा सरकारका तर्फबाट विभिन्न प्रतिबद्धताहरू आएपछि एक महिनाका लागि सत्याग्रह पछि सारेका थियौं। ती प्रतिबद्धताहरू कार्यान्वयन नभएमा सही भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने जानकारी पनि गराउँछौं,’ विज्ञप्तिमा थप गरिएको छ।

यो पनि

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम चर्चामा, राजनीतिक लबिङ भइरहेको दाबी

 

भदौ २१, २०८० बिहीबार ११:३८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।