सभापति देउवाद्वारा वडाध्यक्ष रिजालको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा वडाध्यक्ष रिजालको निधनप्रति दुःख व्यक्त

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको काठमाडौं - ७ का क्षेत्रीय सभापति एवम् काठमाडौं महानगरपालिका -१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति दुःख व्यक्त गरेका छन्। 

उनले दिवंगत  आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ । 

वडाध्यक्ष रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज विहान ७ः३० बजे निधन भएको थियो। 

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज विहान ११ः०० बजेदेखि १२ः०० बजेसम्म राष्ट्रिय सभागृहमा र विहान १२ः३० देखि १ः३० बजेसम्म पशुपति मन्दीर परिसरमा राखिने वक्तव्यमा बताइएको छ। 

त्यसपछि,  अपरान्ह २ः३० बजे पशुपछि आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ।

२०२७ कात्तिकमा जन्मिका स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ।  

२०४६ सालको ऐतिहासिक जनआन्दोलमा उनी प्रहरीको हिरासतमा रहेका थिए। स्वर्गीय रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ को क्षेत्रीय सभापति र कामनपा—१६ को वडाध्यक्ष पदमा दुई पटक निर्वाचित भएका थिए। 

उनको निधनबाट नेपाली कांग्रेसले एक होनाहार युवा नेतृत्वलाई गुमाएको विज्ञप्तिमा उल्लेख छ।

भदौ २१, २०८० बिहीबार ११:०८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।