एसिया कप : सुपर फोरको पहिलो खेलमा पाकिस्तानको शानदार जित

एसिया कप : सुपर फोरको पहिलो खेलमा पाकिस्तानको शानदार जित

काठमाडौं : पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा बंगलादेशमाथि ७ विकेटको शानदार जित हात पारेको छ।

जितको लागि १ सय ९४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ३९.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।

पाकिस्तानका ओपनर इमाम उल हक ८४ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७८ रनको योगदान दिए।

मोहम्मद रिजवान ७९ बलमा ७ चौका र १ छक्कासहित ६३ रनमा नट आउट रहे।

ओपनर फखार जमाम २० र बाबर आजम १७ रनमा आउट भए। अघा सलमान १२ रनमा नट आउट भए।

बंगलादेशका मेहेदी हसन, शोरिफुल इस्लाम र तस्किन अहमदले एक-एक विकेट लिए।

त्यसअघि लाहोरमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेश ३८.४ ओभरमा १ सय ९३ रनमा अल आउट भयो।

बंगलादेशका लागि विकेटकिपर मुश्फिकुर रहिमले ८७ बलमा ५ चौकासहित सर्वाधिक ६४ रनको योगदान दिए। त्यस्तै कप्तान सकिब अल हसन ५७ बलमा ७ चौकासहित ५३ रनमा आउट भए।

एक समय ९.१ ओभरमा ४७-४ को अवस्थामा पुगेको बंगालादेशलाई पाँचौं विकेटका लागि सकिब र मुश्फिकुरले १ सय रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काए।

३०औं बलको पहिलो बलमा सकिबलाई तीव्र गतिका बलर फहिम अशरफले फखार जमानबाट क्याच गराएपछि सम्हाल्लिन सकेन।

ओपनर मोहम्मद नइम २०, मेहेदी हसन मिराज डक, लिटन दास १६, शमिम हुसैन १६ र अफिफ हुसैन १२ रनमा आउट भए।

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ६ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए। नसिम शाहले ५.४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए।

सुपर फोरमा पाकिस्तान, बंगलादेश, भारत र श्रीलंका छन्। सुपर फोरको यो पहिलो खेल हो। सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन्।

भदौ २०, २०८० बुधबार २२:५६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।