रचना रिमालले समय नदिएपछि गौरी आफैँले गाइन् ‘धिन ताका नाका धिन’

रचना रिमालले समय नदिएपछि गौरी आफैँले गाइन् ‘धिन ताका नाका धिन’

काठमाडौं : अभिनेत्री गौरी मल्ललाई दर्शकले गायिकाको रूपमा चिनेकै छैनन्। उनले दर्जनौं गीतहरू फिल्म तथा एकल स्वरमा दर्शकमाझ पस्किसकेकी थिइन्।

बाल्यकालदेखि गायनमा सौखिन मल्लका स्वरमा फिल्म ‘भाई’मा अभिनेत्री मेलिना मानन्धरको लागि पार्श्व गायन गरेकी थिइन्। उनले उनका अन्य फिल्महरूका गीतमा समेत गाएकी छन्। तर, उनको पहिचान अभिनेत्रीमा रूपमा मात्रै सीमित रह्यो।

उनै गौरी दश वर्षपछि गायनमा फर्किएकी छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नै शब्द, संगीत र स्वरमा ‘धिन ताका नाका धिन’ बोलको गीतको अडियो भिडियो सार्वजनिक गरिन् उनले।

गीत लेख्न र संगीत सजिलैसँग भरेको बताउँदै गौरीले गाउनका लागि चर्चित गायिका रचना रिमाललाई आग्रह गरेकी थिइन्। तर, उनले समय नदिएपछि आफैँ गाएको उनको भनाइ छ।

‘मैले यो गीत गाउन सक्दिनँ कि भनेर मलाई मनपर्ने पछिल्लो समयकी गायिका रचना रिमाललाई कल गरेँ। उहाँले कहिले चितवन त कहिले कता जानुछ भन्नुभयो’, उनले खुसीका आँसु खसाल्दै भनिन्, ‘त्यसपछि म आफैँले गाउन सुर कसेँ। त्यसमा स्टुडियोका भाइहरूले मलाई आँट दिनुभयो र गाएँ।’

रियाज गर्न छाडेको दश वर्ष भएको भन्दै गौरीले अबदेखि गायनमा पनि समय दिने बताइन्। बाल्यकालमा घरमा गीत गाउँदा नारायण गोपालले संगीत सिक्नका लागि आग्रह गरेकोसमेत उनले स्मरण गरिन्।

‘मेरो र नारायण गोपालको घर नजिकै थियो,’ उनले बाल्यकालको कुरा सम्झँदै भनिन्, ‘मैले घरमा ठूल्ठूलो स्वरमा गीत गाउँदा नारायण गोपालले सुन्नु भएछ। अनि मेरी आमालाई म्युजिक सिक्न मेरोमा पठाइदिनु भन्नुभएको थियो। तर, खै किन हो कुन्नी म गइनँ। गएको भए अहिले म पनि नारायण गोपालको चेली भन्न पाउँथेँ।’

सार्वजनिक गीत ‘धिन ताका नाका धिन’गीतको भिडियोमा गौरी आफैले अभिनय गरेकी छन्। भिडियोमा गौरीसँगै अभिनेत्री मिथिला शर्मा, समाईरा श्रेष्ठ, तेन्जु योन्जन, निलम पौडेल, सिम्रन शेरचन लगायतले छमछमी नाचेका छन्।

भिडियोलाई सन्तोष राजबाहकले कोरियोग्राफी तथा निर्देशन गरेका छन्। अञ्जु पोखरेल दाहाल म्यूजिक भिडियोकी निर्माता हुन्। भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने सम्पादन विकास दाहालको छ।

भदौ २०, २०८० बुधबार २२:४८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।