देशभर ५१ वटा ‘चार्जिङ स्टेसन’ सञ्चालनमा
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले मुलुकका विभिन्न स्थानमा निर्माण गरेको ५१ विद्युतीय सवारी साधनको अत्याधुनिक द्रुत गतिको चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौँको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको द्रुत गतिको चार्जिङ स्टेसनका शुभारम्भ गरे।
प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरमा ५१ वटा विद्युतीय सवारी साधन छिटो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो।
करिब ४० करोड लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा सानाठूला कारहरु चार्ज गर्न मिल्नेछन्।
चार्ज गर्दा कारमा औसत ७० पैसा, एसयुभीमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्नेछ। नेपालमा उपलब्ध सवारी साधनहरूमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुने प्राधिकरणले जनाएको छ।
हरेक चार्जिङ स्टेसनमा एक सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ।
चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएका छन्। यसबाट ठूला बससहित तीनवटा सवारी साधनले एक साथ चार्ज गर्न सकिनेछ।
चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार मा (करबाहेक) ठेक्का सम्झौता भएको थियो।
सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्नेछ। तीन सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ।
५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ। सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन्।
भदौ २०, २०८० बुधबार १४:३८:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।