श्रीलंका एसिया कपको सुपर फोरमा, राम्रै चुनौती दिएको अफगानिस्तान २ रनले पराजित
एजेन्सी : अफगानिस्तानलाई दुई रनले हराउँदै श्रीलंका एसिया कपको सुपर फोरमा प्रवेश गर्ने अन्तिम टिम बनेको छ।
समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई राम्रै टक्कर दिए पनि हारपछि नेपालसँगै अफगानिस्तानको यात्रा भने सकियो।
अफगानिस्तालाई सुपर फोरमा पुग्न यो खेल जितेर मात्र पुग्दैन थियो कि ३७.१ ओभरमा लक्ष्य पुरा गर्नुपर्ने थियो।
२९२ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान आक्रामक खेल देखाउँदै ३७.१ ओभरमा जितको नजिक पनि पुगेको थियो। तर एक बलमा तीन रन चाहिएको अवस्थासम्म पुगेर अफगानिस्तान ३७.४ ओभरमा २८९ रनमा अल आउट भयो।
अफगानिस्तानका लागि मोहम्मद नाबीले ३२ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ६५ रन बनाएका थिए। श्रीलंकाका कसुन रजिथाले १० ओभरमा ७९ रन खर्चेर ४ विकेट लिए।
यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो।
श्रीलंकाका कुशल मेन्डिसले ८४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ९२ रनको योगदान दिएका थिए।
भदौ २०, २०८० बुधबार ०८:२०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।