आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं : आज (बुधबार) कृष्ण जन्माष्टमी, हिन्दु धर्मावलम्बीहरू भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धापूर्वक मनाउँदैछन्।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका आविष्कारक कृष्णको जन्म द्वापरयुगमा पञ्चाङ्ग अनुसार भगवान विष्णुका आठौं अवतारका रूपमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी भनिन्छ।

यसका साथै उनीसँग सोह्र हजार गोपिनीलाई मोहित पार्नसक्ने गुण भएकाले श्रीकृष्ण जन्मोत्सवको रातलाई मोहरात्री पनि भनिन्छ। कृष्ण जन्माष्टमीलाई श्री जयन्ती, सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिनी वा सहज भाषामा जन्माष्टमी भन्ने गरिन्छ।

बाल्यकालदेखि नै आफ्ना मनोहर लीला देखाएका श्रीकृष्णले शिशुपाल, पुतना, जरासन्ध, कंश, जस्ता दानवी प्रवृत्तिको नास गरेका थिए। शास्त्रमा बताए अनुसार लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्परा अनुरूप कंश जस्ता दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको हो।

कंशको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुन-कृष्ण संवाद ‘श्रीमद् भागवत गीता’ अर्थात छोटकरीमा गीता नामले प्रख्यात छ।

भगवान श्री कृष्णको नामसँगै राधाको नाम पनि लिइन्छ र पुजिन्छ पनि। राधा कृष्णका मन्दिरहरू संसारभरि धेरै ठाँउमा छन् तर राधा कृष्णको मिलन र विवाहको प्रसङ्ग भने इतिहासले लेखिएको छैन।

शास्त्रले रुक्मिकाकी बहिनी रुक्मिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको विषय उल्लेख गर्छ। कृष्णको वृत्तान्त वर्णन गरिएको कृष्ण चरित्रमा राधाको मनोविज्ञान र केही हदसम्म कृष्ण राधाप्रतिको तटस्थतालाई प्रस्तुत गरेको छ।

आजका दिन कृष्णको उपसना गरी रातभर जागा भई कृतन गाउने चलन छ। प्रायजसो कृष्ण प्रणामीहरूले रातीमा जागा बसी मध्यान्हमा पूजा गरि प्रसाद ग्रहण गर्ने चलन छ।

नेपाल र भारतमा रहेका कृष्ण मन्दिरहरूमा आजका दिन घुइँचो लाग्ने गर्छ। ललितपुरस्थित पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ।

यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक सङ्घ संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ। यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
 

भदौ २०, २०८० बुधबार ०७:३०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।