‘एक भगवत् गीता’ विवाद : नामकै आधारमा कट्टरतालाई बढवा दिँदै विकास बोर्ड

‘एक भगवत् गीता’ विवाद : नामकै आधारमा कट्टरतालाई बढवा दिँदै विकास बोर्ड

काठमाडौं : फिल्ममा नायिकाले लगाएको कपडाको रङ्गबारे विवाद निकालेर हङ्गामा हुनु भारतका लागि नौलो घटना हैन। विभिन्न सङ्गठनको नाममा हिन्दु धर्मको ठेकेदार बनेकाहरू त्यस्तै परे आफैँ दण्डधिकारी समेत बनिदिन्छन्।

तर, दर्शकले उनीहरूका कट्टरतालाई सधैँ पराजित गर्ने गरेका छन्। त्यही रोग नेपालमा समेत सल्किसक्यो। विडम्बना उनीहरूका तर्कलाई चलचित्र विकास बोर्डले नै साथ दियो, सेन्सर अगाडि नै फिल्म अनि फिल्मको स्क्रिप्ट देखाउने सहमति गरेर।

प्रसङ्ग हो फिल्म एक भगवत् गीताको। पहिला यो फिल्मको नाम ‘भगवत् गीता’ थियो। पछि निर्माण टिमले ‘ए’ अक्षर फाप्छ भन्दै ‘एक’ थप्यो फिल्मको शीर्षकमा। फिल्मको नाम घोषणा भएको उहिल्यै।​​​​​​​

पोस्टर आयो, टिजर आयो, ट्रेलर आयो अनि बल्ल आँखा लागेछ आध्यात्मिक विकास समाज, हिन्दु जागरण नेपाल अनि विश्व हिन्दु युवा सङ्घ अन्तर्राष्ट्रिय समितिका पदाधिकारीको।

उनीहरूले विरोध जनाए लगत्तै चलचित्र विकास कोषका अध्यक्ष भुवन केसी संयोजन गर्न कस्सिए। छलफल राखेर फिल्मको सेन्सर अगाडि नै स्क्रिप्ट र फिल्म देखाएर अनुमति लिने प्रक्रियामा गए।

विवाद समाधानको सरल बाटो खोज्दै बोर्ड पदाधिकारी र फिल्म निर्माण टिम सेन्सर अगाडि नै फिल्म देखाउन सहमत भएका हुन सक्छन्। तर, यसले भोलिका दिनमा कुनै एक संस्थाले विरोध जनाएकै भरमा उनीहरूबाट अनुमति लिनुपर्ने गैरकानूनी प्रणाली बस्ने जोखिम बढाएका छन्।

फिल्मले गलत कुरा उठाए दण्ड दिने दर्शकले हो, कुनै अमुक संस्थाले हैन। धार्मिक नाम राख्दैमा कुनै संस्था धर्म वा कुनै ग्रन्थको आधिकारिक प्रतिनिधि हुन सक्दैनन्।

कलाको माध्यमबाट के-के देखाउन पाइँदैन त्यसबारे प्रस्ट नीति अनि कानून छ। निर्माण टिमले कानुन उलङ्घन गरे दण्डित गर्ने वैधानिक प्रक्रिया र निकाय छन्।

‘एक भगवत् गीता’ले समावेश गरेको विषयमा विरोध जनाउने संस्थाका प्रतिनिधिलाई फिल्म सेन्सर पास भएर रिलिज भएपछि आफ्ना असहमति वैधानिक प्रक्रिया अनुसार व्यक्त गर्ने संवैधानिक हक छ। तर, चित्त नबुझेकै हकमा आफैँ सेन्सर बोर्ड बन्ने कानूनी हक छैन।

विकास बोर्डले लिएको बाटो घातक छ। यसले धर्मको आडमा बखेडा झिक्न आफैँ भगवान् र धर्मग्रन्थको प्रतिनिधि बनेकाहरूको आत्मबल बढाउनु हो।

आज बोर्ड अध्यक्षको रूपमा यस्तो घातक प्रवृत्ति प्रोत्साहित गर्दा केसीलाई केही हानी नहोला। तर, जब उनी पनि फिल्म निर्माणमा फर्कनेछन् त्यो बेलामा उनैले फैलाउने प्रयास गरेको कट्टरताले उनलाई पनि सङ्कटमा पार्नेछ अहिले ‘एक भगवत् गीता’को टिमलाई पार्न खोजे झैँ। 

भदौ १९, २०८० मंगलबार २३:२६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।