नाबालक मृत्यु प्रकरणमा क्यानका महानिर्देशकलाई कारण देखाउ आदेश

नाबालक मृत्यु प्रकरणमा क्यानका महानिर्देशकलाई कारण देखाउ आदेश

सुर्खेत : पाटन उच्च अदालतले हुम्लामा ६ महिने बालकको मृत्यु भएको घटनामा नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी समेतलाई कारण देखाऊ आदेश जारी गरेको छ।

प्राधिकरणको निर्णयका कारण हवाई उडान रोकिँदा उपचार हुन नपाइ बालकको मृत्यु भएको भन्दै परेको रिटमा न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो।

प्राधिकरणले साउन १२ मा देशका पहाडी तथा हिमाली विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउने लगायतका ५ बुँदे निर्णय गरेको थियो।

अधिवक्ता गणेशबहादुर ओलीले रिटमा हचुवाको आधारमा गरिएको उक्त निर्णयका कारण हुम्ला, सिमकोट गाउँपालिका-६ का ६ महिने बालक इमरान सुनारको मृत्यु भएको थियो।

अधिवक्ता ओलीले मृतक नाबालकको परिवारलाई क्षतिपूर्तिको लागि आदेश दिनसमेत माग गरेका थिए। निवेदकका तर्फबाट अधिवक्ता ओलीका साथै अधिवक्ताहरू धर्मराज रेग्मी, लोकेन्द्र ओली र शिवराज रिमालले बहस गरेका थिए।

ओलीले पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नेपाल नागरिक उड्ययन प्राधिकरण र प्राधिकरणका महानिर्देशक अधिकारीलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

आदेशमा अन्तरिम छलफलका लागि आगामी भदौ २५ गते पेशी तोकिएको छ। रिट माग दावी गरिएको विषय हवाई उडानजस्तो संवेदनशील र हवाई सुरक्षाको विषयसँग सम्बन्धित रहेकाले अर्को पक्षको समेत कुरा सुनी अन्तरिम आदेशको लागि उपयुक्त निर्णय लिइने आदेशमा भनिएको छ।

रिटमा विपक्षीहरूले यस्तो निर्णय के कति कारणबाट गर्नु पर्यो जवाफ माग गरी निर्णयकर्तालाई कारबाही गर्नु भनी उपयुक्त आदेशसहितको परमादेश जारी गरिपाऊँ र अकालमा ज्यान गएका नाबालकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्नु गराउनु भनी परमादेश माग गरिएको छ।

भदौ १९, २०८० मंगलबार २१:०३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।