चौथो अंग : रेडियो प्राविधिकलाई स्टेशन म्यानेजरले सेवासुविधामा हेलाँ गर्छन्
२०४६ सालमा तत्कालीन राजा वीरेन्द्र शाहको सवारी थियो पश्चिमाञ्चल विकास क्षेत्रमा। पर्वतमा पनि सभा थियो। राजाको कार्यक्रमको रेडियो नेपालमा प्रसारण गर्नुपर्ने भएकाले त्यसका लागि रेडियो नेपालको टोली खटिएको थियो। प्राविधिकहरू राजाको सवारी हुनुपूर्व नै त्यहाँ पुगेर प्राविधिक व्यवस्थापन गर्नुपर्दथ्यो।
हामीले सबै सेटिङ मिलायौँ। राजाको सवारी भयो। ‘मास’ धेरै ठूलो थियो। तार चुँडिएर बिजोग नै भयो। त्यो बनाउन हामीलाई केहिबेर लाग्यो। भन्न खोजेको के भने पहिले रेडियोको ‘चार्म’ थियो। सरकार प्रमुखहरू जिल्ला–जिल्ला जाँदा रेडियोका पत्रकारदेखि प्राविधिकसम्म त्यहीँ जानुपर्दथ्यो। अहिलेको पुस्ताले खासै रेडियो सुन्दैन। त्यो बेला रेडियो नसुन्ने कमै थिए।
रेडियोको सान थियो कुनै बेला
२०३७ सालमा हो मैले रेडियोमा काम गर्न थालेको। त्यतिबेला रेडियो नेपाल मात्रै थियो। जावालाखेलमा रहेको ट्रान्समिसन लाइनमा काम गर्थेँ। पुल्चोक इन्जिनियर क्याम्पसबाट इलेक्ट्रिसियनको ९ महिने कोर्ष लिएपछि काम पाइन्थ्यो। त्यतिबेला प्राविधिकहरू निकै कम थिए नेपालमा। त्यतिबेला अहिलेको जस्तो प्रविधि थिएन। प्राविधिक सामानहरू निकै गह्रुँगो हुन्थ्यो।
राजाको सवारी हुँदा जिल्ला-जिल्लामा कार्यक्रमको प्रस्तुतीकरणका लागि पुग्थ्यौँ हामी। त्यतिबेला रेडियो नेपालमा काम गरेको भनेपछि सान नै भिन्दै हुन्थ्यो। पत्रिका शहरतिर मात्रै। मैले काम गर्दा त टेलिभिजन खुलेकै थिएन। सञ्चार साधनको रूपमा रेडियो सशक्त माध्यम थियो।
मलाई रेडियोमा छिर्दा ‘पत्रकारिताभन्दा पनि प्राविधिकतिर हेरेर यसरी काम गर्न पाए कस्तो हुन्थ्यो होला?’ भन्ने लागिरहन्थ्यो। पछि यसैमा करियर बनाएँ। रेडियो नेपालमा पनि स्थायी भएँ। आफ्नो सिफ्ट काम गरेपछि रेडियो नेपालको स्वीकृति लिएर अन्त पनि काम गर्न पाइन्थ्यो।
त्यतिबेला रेडियो सगरमाथा खुल्ने भयो। पार्ट टाइम काम यता सुरु गरेँ। रेडियो सगरमाथा दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो। रेडियो नेपाल र रेडियो सगरमाथामा सामग्री अलग–अलग प्रसारण हुने भए पनि काम त उही थियो मेरो, प्राविधिकको।
रेडियो नेपालमा समाचार र रेडियो कार्यक्रमको अलवा गीत तथा नाटक पनि रेर्कडिङ हुन्थ्यो। मैले धेरै काम नाटक रेर्कडिङमा गरेँ। नाटक र गीत रेकर्ड हुन दुई-तीन दिन लाग्थ्यो। मिहिनेत उस्तै गर्नुपर्दथ्यो। गीतमा वाद्यवाद्यकदेखि गायकसम्मको एकै ताल मिलेन भने फेरि रेकर्ड गर्नुपर्थ्यो।
सम्पादनमा निकै मिहिनेत गर्नुपर्दथ्यो पहिले। अहिले पनि सम्पादनमा मिहिनेत गर्नुनपर्ने भनेको होइन, तर पहिला गाह्रै थियो। अहिले प्रविधिले निकै सजिलो बनाएको छ।
रेडियो सगरमाथाले रिपोर्टिङ धेरै राम्रो गर्थ्यो पहिले। ‘खाल्डो’ भन्ने रेडियो कार्यक्रम थियो। हामीले यसको रिपोर्टिङको लागि ३/४ केजीको रेकर्डर बोकेर फिल्डमा नै पुग्थ्यौँ। एउटा कार्यक्रमको लागि ७/८ घण्टा खटेर रिपोर्टिङ गरेर त्यसलाई सम्पादन गर्नुपर्थ्यो राती अबेरसम्म बसेर।
गीत बजाउने र केही समाचार मात्रै पढेर हुँदैन, रेडियो रिपोर्टिङ गर्नुपर्छ भन्ने थियो त्यतिबेला। रेडियो सगरमाथाको ‘डोको रेडियो’ भन्ने थियो। द्वन्द्वकालमा डोको रेडियो पनि खुबै चल्यो।
हामीले कार्यक्रम बनाउथ्यौँ भने वरपरका एफएमहरूले त्यसलाई हुक गरेर बजाउँथे। त्यस्तै रेडियो म्यागेजिनको लागि गाउँ–गाउँमा गएर सवालजवाफ कार्यक्रम बनाउने र प्रसारण गर्ने काम गरियो।
त्यस्तै रेडियो नेपालले पनि ‘घटना र विचार’ कार्यक्रम चलाउँथ्यो। आधा घण्टाको कार्यक्रम तयारीका लागि दिनभरी खट्थे रिपोर्टरहरू। हाम्रो पनि काम उस्तै हुन्थ्यो।
लाइभ कार्यक्रम गर्दा प्राविधिकहरू निकै चनाखो भएर बस्नुपर्दथ्यो। केही बिग्रिहाल्छ कि भन्ने खुब डर हुथ्यो। रेर्कडेड कार्यक्रममा त यो हुने भएन। पहिला रेडियोमा शुद्ध नेपालीमा बोल्ने भन्ने हुन्थ्यो। कुनै शब्द ठेट नेपालीमा आएन भने शब्दकोष पल्टाएर हेरेर मात्रै प्रयोग गरिन्थ्यो।
काम पनि पर्दा पछाडि दाम पनि
रेडियो नेपालमा काम गर्दा चिठी मात्रै दिनको दुई-तीन बोरा आउँथे। ती चिठीहरूलाई हेर्ने र प्रसारण गर्ने काम हुन्थ्यो। २०६३ सालमा समेत रेडियोको प्रभाव उस्तै थियो।
बीबीसीले रेडियो सगरमाथाको स्टेशन प्रयोग गरेर अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अन्तर्वार्ता लिने भयो। उनीहरू त्यतिबेला भर्खर-भर्खरै शान्ति प्रक्रियामा आएका थिए। प्रचण्ड बखुण्डोलमा रहेका कार्यालय आएपछि माओवादी कार्यकर्ताको ओइरो नै लागेको थियो।
अहिले रेडियोमा पहिलेको जस्तो मिहिनेत देखिँदैन। रिपोर्टिङ र कार्यक्रममा लगानी गरेर ज्ञान उत्पादन गरेको पाइँदैन। अन्य माध्यमले रेडियोको ‘भ्यालु’ कम भएको भन्ने पनि छन्।
रेडियोमा प्राविधिकहरूको आफ्नै दुःख छन्। पर्दा पछाडि हुने भएकाले परिचय संकट त छ नै, त्यसमाथि आर्थिक संकट पनि उस्तै छ। वर्षौंदेखि प्राविधिकहरूको तलब फ्रन्टलाइनमा काम गर्नेको जस्तो बढ्न सकेको छैन। यसमा स्टेशन म्यानेजरले अलि हृदय खुला गर्नुपर्ने देखिन्छ।
स्रोताहरूले पनि जस्ले कार्यक्रम चलाउँछ उसलाई नै चिन्ने। कार्यक्रम धेरै चल्यो भने कार्यक्रम प्रस्तोता हाइ-हाइ हुने भयो तर प्राविधिकहरूको केही हुँदैन।
प्राविधिकलाई स्टेशन म्यानेजरले माया त गर्छन् तर सोही अनुसार सेवासुविधामा ध्यान दिँदैनन् जसले गर्दा रेडियो प्राविधिकमा कम व्यक्तिहरू आइरहेका छन्। आएका पनि टिक्न सकेका छैनन्। यसको लागि प्राविधिकलाई दिँदै आइरहेको सेवासुविधा पुनर्विचार गर्नुपर्ने देख्छु म।
त्यस्तै प्राविधिकहरूले समाचार बुझ्न जरुरी छ। गीत-संगीत बुझ्न जरुरी छ। बिहान कस्तो गीत बजाउने, दिउँसो कस्तो बजाउने अनि राती कस्तो बजाउने भन्ने हुन्थ्यो पहिले। अहिले त मनलाग्दी बजेको जस्तो लाग्छ।
युवा पुस्ताले निकै कम रेडियो सुन्छन्। कम रेडियो सुन्ने भएपछि आकर्षण नै भएको छैन। प्रविधिले पोख्त जनशक्ति त छ तर रेडियोले उनीहरूलाई काममा आउने वातावरण सिर्जना गर्न सकेको छैन।
(३८ वर्ष रेडियो नेपालमा काम गरेका श्रेष्ठ अहिले रेडियो सगरमाथामा काम गरिरहेका छन्। उनैसँग ‘रेडियो प्राविधिकको चुनौती’ शीर्षकमा प्रजु पन्तले गरेको कुराकानी।)
चौथो अंगका पुराना श्रृंखला
भदौ १९, २०८० मंगलबार १७:१४:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।