६१ किलो सुन तस्करी प्रकरण : कपिलवस्तुबाट थप एक जना पक्राउ

६१ किलो सुन तस्करी प्रकरण : कपिलवस्तुबाट थप एक जना पक्राउ

काठमाडौं : हङकङबाट ल्याइएको झन्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप एक जनालाई पक्राउ गरेको छ।

रुपन्देही घर भई काठमाण्डौको टोखा नगरपालिका बस्ने सुमन खरेललाई नेपाल–भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले पुष्टि गरे।

ब्युरोको टोलीले उनलाई कपिलवस्तुको सीमा क्षेत्रबाट पक्राउ गरी काठमाण्डौ ल्याउँदै गरेको र समय पुगेमा आजै म्याद थप हुने पनि उनले बताए।

यसअघि उनी भारतमा लुकिछिपी बसेकाले पक्राउ गर्न सकिएको थिएन। उनको बारेमा सूचना सङ्कलन गरिरहेको प्रहरीले सीमा क्षेत्रमा आएपछि पक्राउ गरिएको उनको भनाई छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरेर लैजान लागेका बेला काठमाण्डौको सिनामङ्गलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो। 

‘ब्रेक शु’ भित्र लुकाएर ल्याइएको यो सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २६ जनालाई पक्राउ गरिसकेको छ।

भदौ १९, २०८० मंगलबार १६:४०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।