नामका कारण विवादमा ‘एक भागवत गीता’, विकास बोर्डमा छलफल

नामका कारण विवादमा ‘एक भागवत गीता’, विकास बोर्डमा छलफल

काठमाडौं : झरना थापाको निर्देशनमा बनेको फिल्म ‘एक भागवत गीता’को नामका कारण विवाद चर्किएको छ।

फिल्मको पोस्टर र ट्रेलर रिलिज भएपछि आध्यात्मिक विकास समाज, हिन्दु जागरण नेपाल र विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले फिल्मलाई लिएर विरोध जनाएका हुन्।

भदौ २९ गते प्रदर्शनको तयारी थाले प्रचारप्रसारमा लागेको फिल्मको प्रदर्शन रोक्नसमेत हिन्दुवादी संघसंस्थाले चेतावनी दिएका छन्।

नामका विषयमा चर्को विवाद भएपछि चलचित्र विकास बोर्डमा सोमबार दुवै पक्षबीच छलफल भयो। छलफलमा विरोध पक्षले फिल्मको स्क्रिप्ट र फिल्म हेर्ने सहमति भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए।

उनले भने, ‘फिल्मको नाम र फिल्मको कथामा भगवानप्रति आस्थामा आँच आउने कुरा छ कि भन्ने हिसाबले विरोध जनाउनुभएको रहेछ। छलफलपछि उहाँहरू सकारात्मक भएर जानुभएको छ।’

उनका अनुसार संघसंस्थाका प्रतिनिधिले स्क्रिप्ट र चलचित्र हेरेपछि नामसम्बन्धी विवादलाई टुंगो लगाउने सहमति छलफलमा भएको छ।

उनले थपे, ‘फिल्म प्रदर्शन हुनुभन्दा अघि सेन्सर हुन्छ नै। कुनै संस्था वा धार्मिक आस्थामाथि विरोध हुने खाल्का संवाद र भिडियो रहेछन् भने त्यहिँ रोकिन्छन्।’

छलफलमा बोर्डका अध्यक्ष केसी सहित बोर्डका सदस्य सचिव विशाल सापकोटा, सदस्यहरू राजु केसी र रबिचन्द्र अधिकारी, चलचित्र वितरकद्वय गोपाल कायस्थ र गोबिन्द शाही, चलचित्र निर्माता संघका उपाध्यक्ष उदय सुब्बा लगायतको सहभागीता रहेको थियो।

भदौ १९, २०८० मंगलबार १५:२३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।