एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतदान सम्पन्न, आजै नतिजा आउने

एमाले लुम्बिनी प्रदेश अधिवेशन :  मतदान सम्पन्न, आजै नतिजा आउने

बुटवल : एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा नँया नेतृत्व चयनको लागि मतदान सम्पन्न भएको छ। 

मङ्लबार बिहान ८ बजेबाट सुरु भएको मतदानमा एक हजार ४ जना मतदातामध्ये नौ सय ६५ जनाले मतदान गरेको  निर्वाचन समितिले जनाएको छ। 

मतदान सकिएसँगै मत गणनाको तयारी भैरहेको र आजै नतिजा आउने समितिले जनाएको छ।  

गत शुक्रबार देखि सुरु भएको अधिवेशनमा अध्यक्ष पदका लागि सहमती नजुटेपछि पार्टी अध्यक्ष केपि शर्मा ओलीको निर्देशन विपरित निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल चुनावी मैदानमा उत्रिएका छन्। 

यस्तै, उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र विश्वराज बराल, बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वली चुनावी मैदानमा छन्। 

सचिवमा उम्मेदवारी दिएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्।

उपसचिव पुरुषतर्फ एक पदका लागि रुकुम पूर्वका उपेन्द्रलाल कामी, रोल्पाका पूर्ण बुढामगर र बाँकेका दुर्गाप्रसाद थारू छन्। त्यस्तै उपसचिव महिलातर्फ एक पदका लागि बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लीला राना मगर छन्। 

कुल १ हजार ४ प्रतिनिधि सहभागी अधिवेशनबाट २०५ सदस्यीय प्रदेश कमिटी बन्ने छ।

लुम्बिनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाइँको रूपमा लिइएको छ।

महासचिव पोखरेलले केन्द्रीय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले वर्तमान अध्यक्ष कँडेललाई समर्थन गरेका छन्। 

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीसँगै केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिव सुवेदी रिजालको पक्षमा खुलेका छन्। 

त्यस्तै कँडेलको पक्षमा सचिव छविलाल विश्वकर्मा तथा गोकर्ण विष्ट, पोलिटब्युरो सदस्यहरू लीला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, बैजनाथ चौधरी लगायत नेताहरू खुलेका छन्।

भदौ १९, २०८० मंगलबार १५:११:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।