विराट र हार्दिकको हातबाट आशिफ र सोमपाललाई मेडल, दीपेन्द्रलाई भारतीय प्रशिक्षकबाट
काठमाडौं : कुनै पनि खेलमा हारेको टीमको खेलाडीलाई जितेको टीमको खेलाडीले मेडल लगाइदिएको दृश्य बिरलै देखिन्छ। हिजो नेपाल–भारतबीचको पहिलो एक दिवसीय क्रिकेट म्याचपछि यस्तै अनौठो दृश्य देखियो।
श्रीलंकाको पल्लेकेले रंगशालामा भएको खेल भारतले १० विकेटले जितेको थिए। वर्षाले प्रभावित खेलमा नेपालले सन्तोषजनक ब्याटिङ गरे पनि गतिलो बलिङ गर्न नसक्दा ठूलो हार व्यहोर्यो।
यद्यपि, खेलपछि नेपाली टिमको प्रशंसा भइरहेको छ। भारतीयहरूले पनि नेपाली ब्याट्सम्यानले साहसिक प्रदर्शन गरेको भन्दै सराहना गरेका छन्।
हिजोको म्याचपछि नेपाली टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले आफ्ना खेलाडीहरूलाई लिएर भारतीय ड्रेसिङ रूममा छिरेका थिए। त्यहाँ उनले भारतीय प्रशिक्षक राहुल द्रविड र खेलाडीहरूको हातबाट आफ्ना खेलाडीलाई मेडल थाप्न लगाए।
प्रशिक्षक देसाईले ह्याप्पी ड्रेसिङ रुमको अवधारणा अनुसार विभिन्न खेलमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल लगाइँदै आएको छ। हिजो भने उनले भारतीय खेलाडीको हातबाट तक्मा लगाइदिएका हुन्।
नेपाल क्रिकेट संघले जारी गरेको भिडियोमा प्रशिक्षक द्रविडसहित ब्याट्सम्यान विराट कोहली, हार्दिक पाण्ड्या लगायतले नेपाली खेलाडीहरू आसिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीलाई तक्मा लगाइदिएको देखिन्छ।
भदौ १९, २०८० मंगलबार १४:३०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।