क्यानडा जान इन्स्टाग्रामको विज्ञापनमा भर पर्दा ३४ लाख चैट

क्यानडा जान इन्स्टाग्रामको विज्ञापनमा भर पर्दा ३४ लाख चैट

काठमाडौं : वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरू ठगीमा परेका छन्। उनीहरूले ३४ लाख रूपैयाँ ठगिएपछि मात्रै आफूहरू ठगीमा परेको सुइँको पाए।

त्यसपछि मात्र उनीहरू प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। 

कार्यालका अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्कपर्मिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरु ठूलो रकम गुमाउन पुगेका हुन्।

अनुसन्धानमा उक्त विज्ञापनपछि सम्पर्कमा पुगेका पीडितलाई क्यानडामा क्यासियरको काम लगाइदिने र त्यसबापत रु पाँच लाख ४५ हजार तलब हुने लोभ देखाएर रकम ठगी गरेको पाइएको हो।

क्यानडा जानका लागि प्रोसेसका लागि आइएलटीएस सर्टिफिकेट र सीभी, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरू पठाइदिनुहोस् भनी ह्वाट्सएपबाट माग गरेको र उक्त कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिहरुका नाममा रहेको बैंक खातामा पैसा हाल्न लगाएको पाइएको प्रहरीले जनाएको छ।

पीडितलाई त्यसरी लोभ्याएर पटक-पटक गरी जम्मा रु ३४ लाख ५७ हजार पठाउन लगाई ठगी गरेपछि उनीहरू सम्पर्कविहीन भएको भनी जाहेरी परेको हो।

यसरी अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न पाइएपछि कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका-६ बस्ने ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरी जिल्ला राजविराज नगरपालिका–४ का ३५ वर्षीय महावीरप्रसाद साहलाई पक्राउ गरी कानुनी कारबाही सुरु गरेको छ।

भदौ १९, २०८० मंगलबार १४:०२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।