कागबेनी बाढीको अवलोकन गर्दै गृहमन्त्री श्रेष्ठले भने : ‘राहत बढाउँदै व्यवस्थित बस्ती बसाउछौँ’

कागबेनी बाढीको अवलोकन गर्दै गृहमन्त्री श्रेष्ठले भने : ‘राहत बढाउँदै व्यवस्थित बस्ती बसाउछौँ’

काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कागबेनी बाढीबाट भएको क्षतिको आज मङ्गलवार स्थलगत अवलोकन गरेका छन्।

अविरल वर्षासँगै गत साउन २८ गतेको स्थानीय कागखोलाको बाढीले घर, कृषि उपज, सार्वजनिक एवम् व्यापारिक संरचना, होटल, पुल, विद्यालय, प्रहरी चौकी, पशुपंक्षी, सवारीसाधन, गुम्बा, कागबेनी श्राद्दस्थल, खानेपानी, सिँचाइ र नगद तथा अन्य भौतिक वस्तुसहित अर्बौंको क्षति गरेको थियो।

बाढीग्रस्त क्षेत्रको अवलोकन गर्दै गृहमन्त्री श्रेष्ठले तत्काल राहतमा वृद्धि गर्ने र कागबेनी जस्तो ऐतिहासिक तीर्थस्थलको दीर्घकालीन पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाए।

क्षतिको अवलोकनपछि प्रभावितसहित जनप्रतिनिधि र स्थानीय प्रशासनलाई संक्षिप्त सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले तत्कालीन प्राथमिक आवश्यकलाई समाधान गर्दै प्राविधिक र योजनाविद् अध्ययन आधारित निष्कर्ष निकालेर कागबेनीको पुनर्निर्माण गरिने, रणनीतिक रूपले व्यवस्थित बस्ती बसाइने बताएका हुन्।

त्यसक्रममा उनले खानेपानी, गुणस्तरीय खाद्यवस्तु र बसोबासमा कुनै कमजोरी हुन नदिन समेत स्थानीय प्रशासनलाई निर्देशन दिए।

भदौ १९, २०८० मंगलबार १३:०६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।