एसिया कप समीक्षा : नेपालको प्रदर्शनले विश्वकपअघि भारतीय टिमको टाउको दुखायो

एसिया कप समीक्षा : नेपालको प्रदर्शनले विश्वकपअघि भारतीय टिमको टाउको दुखायो

काठमाडौं : एसिया कपमा नेपालले आफ्नो दोस्रो तथा अन्तिम खेल भारतसँग खेल्यो। यो खेलमा नेपालले गरेको ब्याटिङ प्रदर्शनले भारतीय टिमको बलिङ स्तरलाई छरपस्ट पारेको छ।

एसिया कपपछि घरमै हुने विश्वकप जित्ने योजनामा रहेको भारतलाई नेपाली ब्याटिङले ब्यूँझाइदिएको छ।

भारतले नेपाललाई १० विकेटले पराजित गर्दै सुपर फोरमा स्थान पक्का गरे पनि कप्तान रोहित शर्माले भने टोलीले राम्रो खेल्न नसकेको प्रतिक्रिया दिए।

नेपालले दिएको २३१ रनको लक्ष्य पच्छ्याउने क्रममा भारत सुरुवातदेखि नै आक्रामक बनेको थियो। तर तेस्रो ओभरमा वर्षाका कारण खेल रोकियो।

यसपछि २३ ओभरमा छोट्टाइएकोमा भारतले डकवर्थ लुइस नियमका आधारमा १४५ रनको नयाँ लक्ष्य पायो। जसलाई भारतीय ओपनर रोहित शर्मा र शुभमन गिलले सजिलै पुरा गरे। गिलले ६२ बलमा अविजित ६७ रन र रोहित शर्माले ५९ बलमा अविजित ७४ रन बनाए।

खेल अघि नै भारतले नेपाललाई हराउने पक्का जस्तै थियो। तर पहिलो पटक यति ठूला टिमसँग खेलिरहेको नेपालजस्तो एसोसियट टोलीका अगाडि भारतीय बलरले गरेको बलिङप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

पहिलो खेलमा पाकिस्तानले नेपाललाई १२५ रन समेत बनाउन नदिएकोमा भारतका फास्ट बलरलाई भने नेपालका ब्याट्सम्यानले राम्रैसँग चुटेकोमा भारतीय क्रिकेट विश्लेषकहरू चिन्तित छन्। 

भारतको कमजोर बलिङ

पाकिस्तान विरुद्ध भारतीय ओपनरहरूले राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। तर दुवैले नेपालविरुद्ध आफ्नो वास्तविक क्षमता देखाए।

गिल लेग साइडमा र रोहित शर्मा हावामा खेल्न मन पराउँछन्। बाउन्ड्री प्रहारमा विश्वास गर्ने रोहितले नेपालसँग खुलेर खेल्दै सुपर फोरको खेलअघि आफूलाई फर्ममा ल्याए।

उता अघिल्लो खेलमा निकै ढिलो खेलिरहेका शुभमन गिलले नेपालविरुद्ध त्यो गल्ती दोहोराएनन् र आफ्नो आत्मविश्वास बढाउन सफल भए।

रोहित शर्मा र शुभमन गिलको ठूलो स्कोरको अविजित ओपनिङ साझेदारीलाई भारतीय टोलीले राम्रो संकेत मानेको छ। किनभने पाकिस्तानसँगको खेलमा भारतीय टप अर्डर ध्वस्त हुँदा मध्य क्रमका ब्याटर हार्दिक पाण्ड्या र इशान किशनले इनिङ जोगाएका थिए।

नेपालसँगको खेल भारतीय ब्याटिङका हिसाबले सन्तोषजनक रहे पनि बलिङ भने अझै पनि भारतीय टोलीका लागि एक टाउको दुखाइको विषय बनेको छ।

कप्तान रोहित शर्माले पनि भारतले दुवै खेलमा राम्रो खेल्न नसकेको बताए। पहिलो खेलमा भारतको ब्याटिङ दवाबमा आयो भने दोस्रो खेलमा बलिङ सामान्य र फिल्डिङ कमजोर रह्यो।

नेपालले विश्वकप अघि भारतलाई दिएको चिन्ता  

एसिया कप ठूलो प्रतियोगिता हो तर त्यसको लगत्तै एकदिवसीय विश्वकप हुँदैछ। भारतमै हुन लागेको विश्वकपमै सबैको नजर छ।

एसिया कप विश्वकपको तयारी प्रतियोगिता पनि हो। विश्वकपमा इंग्ल्यान्ड, अष्ट्रेलीया, न्युजिल्यान्डको सामना गर्नुअघि भारतले यस एसिया कपलाई विश्वकपकै तयारीको रूपमा हेरेको छ।

तर नेपालसँगको खेलले विश्वकप अघि भारतीय टिममा झन् तनाब थपेको छ। नेपासँगको खेलपछि भारतीय तीब्र गतिका बलरको क्षमता कम भइरहेको स्पष्ट देखियो।

मोहम्मद सिराजले तीनवटा सफलता हात पारे पनि ९.२ ओभरमा ६१ रन खर्चेका उनको इकोनोमी ६.५३ रहेको थियो।
जहाँ मोहम्मद शामीले ७ ओभरमा एक मात्र विकेट लिए।

यी दुईको उपस्थितिका बाबजुद नेपालले पहिलो १० ओभरमा ६५ रन बनाएको थियो। नेपालले ९ ओभरसम्म एक विकेट पनि गुमाएको थिएन। भारतीय बलरले अन्तिम ओभरमा पनि नेपालका ब्याट्सम्यानलाई छिटो रन बनाउने मौका दिए।

हार्दिक पाण्ड्याले भने ८ ओभर बलिङ गर्दै ३४ रन दिएर एक विकेट लिए। पाण्ड्याका बारेमा विज्ञहरुको धारणा छ - अब उनले भारतीय टिममा ब्याटिङमा मात्रै नभइ तेस्रो सिमरको भूमिका पनि खेल्नुपर्नेछ।

सञ्जय मांजरेकरले भने, ‘मानौं भारतले अन्तिम ओभर बलिङ गर्नुपर्छ र जितका लागि १० रन चाहिन्छ। यस्तो बेला कप्तान रोहित शर्मासँग एकभन्दा बढी सिमरको विकल्प हुनुपर्छ । यदि दुई सिमरमध्ये एकको दिन खराब छ भने, हार्दिकको बलिङ धेरै महत्त्वपूर्ण हुन्छ।

पाकिस्तान भर्सेज भारतको फास्ट बलिङ

केही दिनअघि क्यान्डीमा पाकिस्तान विरुद्ध खेल्दा भारतीय टोलीले ६८ रनमै सुरुवाती चार विकेट गुमाएको थियो। पछि हार्दिक पाण्डेय र इशान किशनले राम्रो ब्याटिङ गरे पनि टोली २६६ रनमा अलआउट भएको थियो।

वर्षाको कारण खेल रद्द हुँदा पाकिस्तान ब्याटिङमा आउन सकेन र खेल बिनानतिजा सकियो। तर पाकिस्तानी फास्ट बलरको अगाडि भारतीय ब्याटर निरीह बन्दा बलिङका कारण पहिलो इनिङको विजयी टोली पाकिस्तान नै थियो भन्नेमा कुनै शंका छैन।

पाकिस्तानका लागि चार विकेट लिएका शाहीन शाह अफ्रिदीले प्रशिक्षक मिकी आर्थरले आफूलाई मन्त्र दिएको बताए।

मिकी आर्थर मात्र होइन भारतकै पूर्व स्टार खेलाडी गौतम गम्भीर र इंग्ल्याण्डका पूर्व तीब्र गतिका बलर डोमिनिक कर्कले पनि शाहीन शाहलाई एकदिवसीय खेल जिताउन सक्ने बलर भएको विश्वास गर्छन्।

तर के नेपालविरुद्धको खेलमा भारतीय बलरले टोलीलाई त्यस्तो आत्मविश्वास दिलाउन सके?

भारतसँग नेपालले खेलेको इतिहासमै यो पहिलो पट थियो, तर यसका बाबजुद पनि अनुभवी भारतीय बलरहरूका अगाडि नेपाली ब्याट्सम्यानले निडर भएर खेले। नेपालको टप अर्डरले मोहम्मद सामी, मोहम्मद सिराज र हार्दिक पाण्ड्यालाई राम्रोसँग धोएका थिए।

भारतको कमजोर फिल्डिङका कारण तीनवटा क्याच पनि छुटे, जसको पूरा फाइदा नेपालका ब्याट्सम्यानले उठाए। 

भारती फास्ट बलिङको राम्रै सामना गरेका नेपाली ब्याटरहरूलाई स्पिनर रविन्द्र जडेजा र कुलदीप यादवलाई खेल्दा मात्र केही समस्या भएको थियो। 

नेपालले २३० रन बनाएपछि अन्य शीर्ष टोलीका अगाडि यो बलिङ हल्का हुने चर्चा भारतीय क्याम्पमा बढेको छ।

भारतको भर बुमराहमा 

नेपाली ब्याटरले अन्य फास्ट बलरलाई चुटिरहँदा नेपालविरुद्धको खेलमा भारतीय टिमले बुमराहलाई निकै मिस गरेको थियो। 

बुमराह आफ्नो पहिलो सन्तान जन्मिएर भारत फर्किएका कारण सोमबारको नेपालविरुद्धको खेलमा खेलिरहेका थिएनन्। सायद भारतले नेपालसँग हालको विश्वका सफल फास्ट बलर उनलाई खेलाउन आवश्यक ठानेको पनि थिएन।

तर अन्य बलरको प्रदर्शनले भारतको चीन्ता थपियो। गौतम गम्भीरले विश्वकपमा भारतले सबैभन्दा ठूलो दाउ लगाउने खेलाडी बुमराह रहेको बताए।

खेलको क्रममा प्रशारणकर्तासँग कुरा गर्दै गम्भीरले भने कि एक भारतीय खेलाडी जसको काँधमा सबैभन्दा बढी जिम्मेवारी छ, ती बुमराह हुन्।

उनले भने, ‘जसरी २०११ को विश्वकपमा भारतको जितको लागि मानिसहरूले तेन्दुलकर, युवराज सिंह वा धोनीलाई सम्झन्छन् तर भारतको जित सुनिश्चित गर्ने खेलाडी जहीर खान थिए। त्यस्तै बुमराह पनि यस पटक भारतका लागि महत्वपूर्ण हुनेछन्।’ 

गम्भीरले भने कि यदि बुमराहले राम्रो बलिङ गरे मात्र भारतको जित्ने सम्भावना बढ्छ। 

एजेन्सीको सहयोगमा

भदौ १९, २०८० मंगलबार १३:३६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।