टाइगर प्यालेस रिसोर्टको नाममा मन्दिरको जग्गा कब्जा, अध्यक्ष मरासिनीले गराए नगरपालिकासहित सरकारी निकायको ध्यानाकर्षण

टाइगर प्यालेस रिसोर्टको नाममा मन्दिरको जग्गा कब्जा, अध्यक्ष मरासिनीले गराए नगरपालिकासहित सरकारी निकायको ध्यानाकर्षण

क्यालिफोर्निया : गैर आवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष कुल आचार्य, राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी लगायतको टिमले खरिद गरेको भनिएको भैरहवास्थित पाँच तारे होटल टाइगर प्यालेस रिसोर्ट नामको बिबादास्पद होटेलले मन्दिरको जग्गा कब्जा गरेको पाइएको छ। 

गैर आवासीय नेपाली संघका आजीवन सदस्य माधव मरासिनीले एक सूचना जारी गर्दै तिलोत्तमा नगरपालिका १७ मा अवस्थित २०० वर्ष पुरानो ऐतिहासिक बाउन्नकोटी देवीको मन्दिर केही समयदेखि टाइगर प्यालेस रिसोर्ट नामको बिबादास्पद होटेलले आफ्नो नियन्त्रणमा लिई यसको वरिपरि तारबार समेत लगाई सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको उल्लेख गरेका छन्।

‘एक निजी कम्पनीको कार्यले स्थानीय भक्तजनको मन भाँचेको मात्र छैन नगरपालिकाको विश्वव्यापी छबि समेत बिगारेको छ। यति मात्र हैन पछिल्लो पटक कम्पनीले आयोजना गरेको पूजा समारोहमा नगर प्रमुखको उपस्थिति समेत विवादमा परेको छ र थुप्रै शंका गर्ने ठाउँ पैदा भएको छ' मरासिनीले भने।

बाउन्नकोटी देवीको मन्दिर कसरी निजी कम्पनीको कम्पाउन्ड भित्र पर्न गयो यसको सत्य तथ्य छानबिन गरि, दोषी उपर कारबाही गरि मन्दिरलाई नगरपालिकाको नियन्त्रणमा राखी सर्वसाधारणलाई २४ सै घण्टा खुला हुने वातावरण बनाउन उनले माग गरेका छन्। 

भदौ १९, २०८० मंगलबार ११:४६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।