सरकारले १०० रोपनी जग्गा दिए क्रिकेट स्टेडियम बनाउन हामी पहल गर्छौं : बालेन

सरकारले १०० रोपनी जग्गा दिए क्रिकेट स्टेडियम बनाउन हामी पहल गर्छौं : बालेन

काठमाडौं : एसिया कपमा नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन्।

बालेनले सामाजिक सञ्जालमा नेपाल र भारतको खेल भएको क्रिकेट स्टेडियम त्रिविको क्रिकेट स्टेडियम जस्तै भएको र नेपालमा त्यही स्तरको रंगशाला (जग्गा बाहेक) ८०/९० करोडमा नै बन्ने उल्लेख गरे।

‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं,’ फेसबुकमा बालेनले लेखेका छन्।

‘यस्तो मात्रै रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ र एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ,’ उनले थपे।

साथै बालेनले खेलाडी र ग्रासरूट तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेको पनि उल्लेख गरे।

भदौ १९, २०८० मंगलबार १०:५२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।