ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो नगद तथा चेक जम्मा गर्ने मेसिन​​​​​​​

ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो नगद तथा चेक जम्मा गर्ने मेसिन​​​​​​​

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ।

मेसिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेसिनमार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ।

बैंकले ५ वटा क्यास डिपोजिटर र ५ वटा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो। बैंकले काठमाडौं उपत्यकामा कमलादी र न्युरोड तथा उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको छ।

त्यस्तै काठमाडौं उपत्यकाभित्र कमलादी, न्युरोड, कुलेश्वर तथा काठमाडौं उपत्यका बाहिर पोखरा र वीरगञ्ज शाखामा चेक डिपोजिटर मेशिन सञ्चालनमा ल्याएको हो।

बैंकको कमलादी शाखामा आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंक सञ्चालक समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त मेसिनको उद्घाटन गरे।

उद्घाटनका अवसरमा अध्यक्ष ढकालले प्रविधिको विकास र आम उपभोक्ताको आकांक्षा अनुरूप वित्तीय क्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको बताए।

उनले ग्लोबल आइएमई बैंकले पनि समयानुकूल नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्दै गरेको बताउँदै यो मेसिन पनि त्यसकै उदाहरण भएको उल्लेख गरे।

‘यो मेसिन इफिसिन्यसी, सुविधा र सुरक्षाको मिश्रण हो। यसले ग्राहकलाई आफ्नो अनुकूल समयमा, विना कुनै कागजी प्रकृया सुविधाजनक हिसाबले क्यास तथा चेक डिपोजिट गर्न सहयोग पुग्नेछ। समयको बचत हुनेछ। २४ घण्टा सेवा उपलब्ध हुने हुँदा सेवा आफ्नो अनुकूल लिन सकिनेछ,’ उनले भने।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले ३४८ शाखा कार्यालय, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

भदौ १९, २०८० मंगलबार ०९:०५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।