एमालेको लुम्बिनी प्रदेश नेतृत्वका लागि मतदान सुरु हुँदै (तस्बिरहरू)

एमालेको लुम्बिनी प्रदेश नेतृत्वका लागि मतदान सुरु हुँदै (तस्बिरहरू)
तस्बिर : विकास पराजुली

बुटवल : बुटवलमा जारी एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तर्गत मंगलबार (आज) मतदान हुँदैछ। सहमतिको प्रयास विफल भएपछि हुन लागेको मतदान केहीबेरमा सुरु हुँदैछ।

सोमबार राती ८ बजे मतदान गर्ने बताएको निर्वाचन समितिले रातको समयमा काम गर्न अप्ठ्यारो भएको भन्दै मंगलबार बिहानका लागि मतदान समय तोकेको थियो।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुन लागेको निर्वाचनमा प्रतिनिधिहरु भेला भएका छन्। कतिपयले प्रचारप्रसारलाई तीब्र बनाएका छन्।

भदौं १६ गतेदेखि जारी अधिवेशनमा अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजालबीच प्रतिस्पर्धा हुँदैछ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र विश्वराज बराल, बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वली चुनावी मैदानमा छन्। 

सचिवमा उम्मेदवारी दिएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्।

उपसचिव पुरुषतर्फ एक पदका लागि रुकुम पूर्वका उपेन्द्रलाल कामी, रोल्पाका पूर्ण बुढामगर र बाँकेका दुर्गाप्रसाद थारू छन् । त्यस्तै उपसचिव महिलातर्फ एक पदका लागि बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लीला राना मगर छन्। 

पदाधिकारीमा ५ पदका लागि १३ जनाको उम्मेदवारी परेको छ। कुल १ हजार ४ प्रतिनिधि सहभागी अधिवेशनबाट लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि कुल ३६४ जनाको उम्मेदवारी परेको छ। 

अहिले मतदान स्थल बाहिर उम्मेदवारहरू प्यानल बनाएरै मत मागिरहेका छन्। लुम्बिनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाइँको रूपमा लिँदा अधिवेशनमा नेताहरू दुई कित्तामा बाँडिएका छन्।

महासचिव पोखरेलले केन्द्रीय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले वर्तमान अध्यक्ष कँडेललाई समर्थन गरेका छन्। 

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीसँगै केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिव सुवेदी रिजालको पक्षमा खुलेका छन्। त्यस्तै कँडेलको पक्षमा सचिव छविलाल विश्वकर्मा तथा गोकर्ण विष्ट, पोलिटब्युरो सदस्यहरू लीला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, बैजनाथ चौधरी लगायत नेताहरू खुलेका छन्।

भदौ १९, २०८० मंगलबार ०८:४८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।