एक वर्षमा पाथीभरा मन्दिरमा ३ करोड बढी भेटी संकलन

एक वर्षमा पाथीभरा मन्दिरमा ३ करोड बढी भेटी संकलन

ताप्लेजुङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी संकलन भएको छ। आर्थिक वर्ष २०७९/८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी संकलन भएको हो।

जहाँ नोट पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा गरिदिएको रु १४ लाख ५४ हजार चार सय तीन र भेटीवापतको भारू रु १० लाख ८४ हजार तीन सय संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ। यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको छ। समितिका अनुसार अघिल्लो आवमा भने रु दुई करोड १४ लाख भेटी संकलन भएको थियो। 

समितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा संकलन भएको छ।

भेटीबाट संकलित रकमले करार र ज्यालादारीमा कर्मचारी व्यवस्थापन , फोहर व्यवस्थापन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेलाई उद्धार गर्ने लगायत काम हुने गरेको क्षेत्र विकास समितिले जनाएको छ।

समितिले संकलित रकमबाट चालु आवमा माथिल्लो फेदीबाट मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्याङ्की बनाउने निर्णय पनि गरेको छ।

भदौ १९, २०८० मंगलबार ०८:१५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।