सारसका लागि स्वर्ग लुम्बिनी वृहत्तर क्षेत्र, तर साँघुरो बन्दैछ वासस्थान
बुटवल : लुम्बिनी क्षेत्र सारस र सिकारी चराका लागि उपयुक्त वासस्थल बनेको छ। सारस वृहत्तर लुम्बिनी क्षेत्रमा सबैभन्दा धेरै पाइन्छ।
हालै मात्र इन्टरन्यासनल क्रेन फाउन्डेसन र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा नेपाल जूलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागले गरेको अध्ययनले लुम्बिनी वृहत्तर क्षेत्र सारसका लागि सबैभन्दा उपयुक्त स्थान रहेको देखाएको छ।
गत वैशाख र जेठमा गरिएको अध्ययन अनुसार सारस वृहत्तर लुम्बिनी क्षेत्रमा मात्रै ६५२ वटा पाइएको अध्ययनका एक सदस्य प्राणीशास्त्री डा. हेमबहादुर कटुवालले बताए। यो संख्या अझ बढ्न सक्ने उनको भनाइ छ।
गर्मी र सुख्खायाममा गरिएको अध्ययनले ६५२ वटा सारस देखिए पनि बर्खामा भने यो संख्या केही बढेको हुन सक्ने उनले बताए।
‘हामीले वृहत्तर लुम्बिनी क्षेत्र बाहेक बाँके र कञ्चनपुरमा पनि अध्ययन गरेका थियौं,’ उनले भने। सारस ठूलो शरीर भएको एक प्रजातिको चरा हो। यसको तौल पनि बढी हुन्छ। यो ४०–५० फिट हाराहारीमा मात्रै उड्न सक्छ।
सबैभन्दा बढी सारस पाइने कपिलवस्तु, रुपन्देही तथा परासी सहितको क्षेत्रमा ५ बर्ग किलोमिटरको ९३ वटा ब्लक बनाएर १४ वटा टोलीले अध्ययन गरिएको र अध्ययन गर्दा जंगलको क्षेत्र भने छाडिएको कटुवालले बताए।
एउटा ब्लकमा एकै पटक सर्वे गर्दा सारस अन्यत्र जान नपाउने र दोहरिने सम्भावना कम हुने भएकाले ब्लक छुट्याएर सारसको गणना गरिएको हो।
खासगरी सारस सिमसार क्षेत्रमा पाइने भएकाले जंगल क्षेत्रमा भने अध्ययन नगरिएको उनको भनाइ छ। चरा विज्ञ समेत रहेका प्राणीशास्त्री डा. हेमबहादुर कटुवालले रुपन्देहीमा मात्र ३८२ वटा सारस फेला परेको बताए।
त्यस्तै कपिलवस्तुमा २ सय र परासीमा ७० गरी ६५२ सारस पाइएको हो। गणनाका क्रममा बाँकेमा ३३ र कञ्चनपुरमा ५ वटा सारस भेटिएको उनले बताए।
अध्ययन टोलीमा चराविज्ञ कटुवाल सहित त्रिभुवन विश्वविद्यालयका प्रा. हरिप्रसाद शर्मा र विष्णुप्रसाद भट्टराई थिए।
कपिलवस्तुका जगदीशपुर कृत्रिम ताल र बझाहा ताल, रुपन्देहीका विष्णुपुरा, गैंडाहवा ताल, खडैया इटा भट्टा, दुईमुहान, माझगाउँ, औरधौली पूर्व, बबई दुर्गा मन्दिर, आजमघाट तथा परासीको नन्दन तालमा सारस गणना गरिएको थियो।
लुम्बिनीमा सारस संरक्षण क्षेत्र नै बनाइएको छ भने लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई नगरपंक्षी समेत घोषणा गरेको छ।
खास गरी लुम्बिनीमा चरा पाइने क्षेत्र भनेको कपिलवस्तुको खेती क्षेत्र, लुम्बिनीको खेती गरिने स्थान र जगदीशपुर ताल तथा देवदह पर्छन्। अहिलेसम्म यिनै क्षेत्रमा सारसबारे अधिक अध्ययन भएका छन्।
संरक्षणमा चुनौती
अध्ययनका क्रममा सारस संरक्षण चुनौतीपूर्ण बन्दै गएको चराविज्ञ कटुवालले बताए। ‘सारसको वासस्थानमा सबैभन्दा बढी प्रभाव खेतबारीमा भएका पूर्वाधार निर्माणले गरेको छ। त्यसबाहेक मानवीय क्रियाकलापले जैविक विविधता ह्रास हुँदै जाँदा संरक्षण चुनौतीपूर्ण बन्दै छ,’ उनले भने।
लुम्बिनी क्षेत्रमा भएको पूर्वाधार निर्माणका क्रममा हुने प्रदूषणको असर पनि सारसमा देखिएको छ। नवनिर्माणले सारसको वासस्थान साँघुरीदै जाने कटुवालले बताए। त्यस्तै विषादीको प्रयोग, विद्युतबाट हुने करेन्टले पनि सारस संरक्षणमा चुनौती थपिएको छ।
१२ वर्षमा ४२ वटा सारसको करेन्ट लागेर मृत्यु
अध्ययनको क्रममा सारसको मृत्युको प्रमुख कारण मध्ये करेन्ट पनि रहेको पाइएको छ। खेतबारी हुँदै गएको विद्युतका तारबाट सारसलाई करेन्ट लाग्दा मृत्यु हुने गरेको हो।
लामा खुट्टा हुने सारस धेरै माथि उड्न सक्दैन। त्यही कारण सारस खेतको बीचमा हुने हाइटेन्सन लाइनमा पर्ने गरेको अनुसन्धानका क्रममा देखिएको कटुवालले बताए।
‘हामीले सर्वेक्षणका क्रममा सारसको मृत्युको कारण पनि खोज्यौं। अध्ययनको सबै विवरण हेर्दा करेन्टले पनि सारसको मृत्यु भएको पाइयो,’ उनले भने। १२ वर्षको अवधिमा वृहत्तर लुम्बिनी क्षेत्रमा ४२ वटा सारसको मृत्यु भएको पाइएको उनले बताए।
साँघुरो बन्दै वासस्थान
वृहत्तर लुम्बिनी क्षेत्रमा अन्य संस्थाहरूले पनि सारसको अध्ययन गरिरहेका छन्। अध्ययनका क्रममा सारसको संख्या केही बढिरहेको देखाएको छ। हिमालयन नेचर संस्थाले सन् २०२० मा प्रारम्भिक अध्ययन गर्ने क्रममा ६ वटा जिल्लामा सारस तथा त्यसको वासस्थानको बारेमा सर्वेक्षण गरेको थियो।
त्यस बेला रुपन्देही र कपिलवस्तुमा मात्र ३९७ सारस भेटिएको थियो। त्यस्तै बाँकेमा ४, बर्दियाको बढैयातालमा २, कैलालीमा ३, कञ्चनपुरमा ४ र नवलपरासीमा २५ गरेर ४४२ वटा सारस गणना गरिएको सर्वेक्षण टोलीका एक सदस्य तथा चराविज्ञ सिजन ज्ञवालीले बताए।
त्यस्तै सन् २०२१ म सोही संस्थाले गरेको अध्ययन अनुसार रुपन्देही र कपिलवस्तुमा मात्र ३९४ वटा सारस देखिएको थियो। चराविज्ञ सिजन ज्ञवाली, धिरज चौधरी र संजीवन आचार्यको टोलीले सारको सर्वेक्षण गरेको थियो।
सन २०२२ मा रुपन्देही र कपिलवस्तुमा मात्र ३४४ वटा सारस गणना गरिएको उनले बताए। उनका अनुसार कपिलवस्तुको जगदिसपुर ताल, रुपन्देहीको लुम्बिनी सिमसार, घाँसे मैदान र गजेडी तालमा सर्वेक्षण गरिएको हो।
सर्वेक्षणका क्रममा सारसको संख्या स्थिर रहेको समेत भेटियो। ज्ञवालीले सिजन अनुसार फरक फरक तथ्याङ्क आउन सक्ने भन्दै सारसको प्रत्येक वर्ष २ देखि ३ पटकसम्म अनुसन्धान गरे मात्र यसको वास्तविकता थाहा हुने बताए।
सारस संरक्षणका लागि अझै पनि समुदाय स्तरमा जनचेतनाको अभाव देखिएको भन्दै उनले सारस अवलोकनका प्रचारप्रसारको पनि अभाव रहेको बताए।
‘सारसको वासस्थान सानो हुँदै गएको छ। यसको जनसंख्या बृद्धिका लागि अझै अध्ययन तथा अनुसन्धान गरिनुपर्छ। सरकारको योजनामा यो विषय प्राथमिकतामा पर्न जरुरी छ,’ उनले भने।
सिकारी चराको मुख्य वासस्थान लुम्बिनी
बुद्ध जन्मस्थल लुम्बिनी सिकारी चराको मुख्य वासस्थान रहेको छ। बसाइँ सरेर आउने यस्ता चराका लागि लुम्बिनी क्षेत्र स्वर्ग रहेको सिकारी चराका अनुसन्धानकर्ताले जनाएका छन्। दिनमा सक्रिय हुने ६० प्रजातिका सिकारी चरा मध्ये लुम्बिनीमा ४५ प्रजातिको चरा पाइने तथ्याङ्क छ।
विश्वमा पाइने सिकारी चरा मध्ये १४ प्रतिशत र नेपालमा रहेका मध्ये ७५ प्रतिशत प्रजातिका चरा लुम्बिनीमा पाइन्छन्।
सिकारी चरा मध्ये नेपालमा पाइने १२ प्रजाति विश्वमै दुर्लभ छन्। यी १२ वटै प्रजातिका चरा लुम्बिनीमा सजिलै देख्न पाइन्छ। जीवाहार, लघु, रणमत्त, गोमायु र राग महाचील यहाँ देख्न पाइन्छ। डंगर, खैरो, सेतो, सुन र लामो ठूडे गिद्ध तथा तोप बाज र सानो कमकम चील पनि यहाँ हेर्न पाइन्छ।
भदौ १९, २०८० मंगलबार ०७:५७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।