नेपाल र भारतबीचको खेल साढे १० बजे सुचारु हुने, लक्ष्य १४५
काठमाडौं : नेपाल र भारतबीचको खेल साढे १० बजे सुचारु हुने भएको छ।
वर्षाका कारण रोकिएको खेल २३ ओभरमा झारिएको छ भने भारतका लागि लक्ष्यसमेत घटेको छ। भारतका लागि लक्ष्य भने १४५ रनको तय भएको छ।
खेलमा तीन बलरले पाँच ओभर र दुई बलरले चार ओभर बलिङ गर्न सक्नेछन्।
तेस्रो ओभरको पहिलो बलपछि पानी परेसँगै खेल प्रभावित भएको थियो। २३१ रनको लक्ष्य पछ्याएको भारतले तेस्रो ओभरको पहिलो बलसम्म विना विकेटको क्षतिमा १७ रन बनाएको थियो।
त्यसअघि श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले ४८ ओभर २ बलमा अलआउट हुँदै २३० रन बनायो।
नेपालका लागि आशिफ शेखले ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको पारी खेले।
सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रन बनाउँदा कुशल भुर्तेलले २५ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए।
दीपेन्द्रसिंह ऐरीले २९, गुल्सन झाले २३ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराज तीन–तीन तथा मोहम्मद सामी, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले समान एक–एक विकेट लिए।
भदौ १८, २०८० सोमबार २२:२२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।