नेपालगञ्जमा वरिष्ठ सई विनोद सिंहमाथि खुकुरी प्रहार, दुई जना पक्राउ

नेपालगञ्जमा वरिष्ठ सई विनोद सिंहमाथि खुकुरी प्रहार, दुई जना पक्राउ

नेपालगञ्ज : नेपालगञ्ज बजारमै युवाहरूको समूहले वरिष्ठ सई विनोद सिंहमाथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी रञ्जीत सिंह राठौरले वरिष्ठ सई सिंंहमाथि युवाहरूको समूहले खुकुरी प्रहार गरेर घाइते बनाएको पुष्टि गरे।

एसपी राठौरले आक्रमणको कारणबारे केही खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको भन्दै आक्रमणमा संलग्नहरूलाई प्रहरीले पक्राउ गरिसकेको जानकारी दिए।

उनले सिंह दाङ लगायतका विभिन्न जिल्लामा प्रहरीको घुमुवा बसेर काम गरेको खुलेको बताए। सिंहमाथि युवाहरूको समूहले आइतबार राति साढे १० बजेतिर आक्रमण गरेका हुन्।

स्कुटरमा हिँडिरहेका सिंहलाई कलपतरू होटल नजिकै युवाहरूको समूहले स्कुटर रोकेर विवाद गर्दै उनीमाथि खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

प्रहरीका अनुसार नेपालगञ्ज कोरीयनपुरका दिपेन्द्र अधिकारी र जानकी गाँउपालिका १ शिवपुरीका भरत थापाले बरीष्ठ सई माथि खुकुरी हानेर घाइते बनाएका हुन्।

उनीहरूलाइ पक्राउ गरेर मुद्दा चलाउने तयारी रहेको प्रहरीले जनाएको छ। घाइते सिंहको दायाँ हातमा गहिरो चोट लागेको र बायाँ हात पनि काटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ।

वरिष्ठ सई सिंहले केही दिनअघि मात्रै पदबाट राजीनामा दिएका थिए। सिंहको अहिले अस्पतालमा उपचार भइरहेको पनि प्रहरीको भनाइ छ।

भदौ १८, २०८० सोमबार २२:०४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।