पानीबाट माेटरसाइकल चलाएका भाइराजा, जसले नाकाबन्दीमा आफ्नो लागि आफैँ ‘इलेक्ट्रिक गाडी’ बनाए

पानीबाट माेटरसाइकल चलाएका भाइराजा, जसले नाकाबन्दीमा आफ्नो लागि आफैँ ‘इलेक्ट्रिक गाडी’ बनाए

०४६ सालको जनआन्दोलनसँगै भारतले गरेको नाकाबन्दीको कारण नेपाली बजार ठप्प थियो। भर्खरै मात्र नयाँ ठाउँमा सरेका भाइराजा स्थापित भने आफ्नो काममा मस्त थिए। नाकाबन्दीकै कारण उनको काम यसरी रोकियो कि हप्तौँसम्म काम नपाएर हम्मे-हम्मे हुन थाल्यो।

त्यसपछि आफ्नो दिमाग लगाए। अनि आफैँसँग भएको सामानको सदुपयोग गर्न थाले। उनले सानो ग्यारेज खोलेका थिए। इलेक्ट्रिक सामान त त्यसअघि नै बनाउँदै आएका थिए उनले। त्यसै बेला इलेक्ट्रिक र आफ्नो गाडीको ‘फ्युजन’ गर्न कस्सिए।

मोटरदेखि कन्ट्रोलरसम्म सबै बनाएर आफ्नो गाडीलाई इलेक्ट्रिक बनाए। त्यसको लागि सामान किन्न महाराजगञ्ज, कालिमाटी र कुलेश्वरको विभिन्न कवाडी र पसल भौतारिदै हिँडे। आफ्नो दिमागले भ्याएसम्मको काम गरे।

‘नाकाबन्दीपछि यहाँ पेट्रोल आएन। हामीले काम पनि पाएन। त्यो बेलामा एउटा सानो मोटरको इन्जिन सब झिकेर, घरमा राखेर, सब आफैँले बनाएको। मोटरदेखि कन्ट्रोलर, सर्किट अनि डिजाइन पनि सबै आफैँले बनाएर कम्पिल्ट गरेँ। सफल भयो,’ उनले सम्झिए, ‘ करिब एक महिना लागेको थ्यो, त्यो बनाउन। त्यसपछि घर बनाउने तयारी पनि चल्दै थियो। घर बनाउनको लागि मैले त्यो गाडी धेरै प्रयोग गरेँ।'

‘इलेक्ट्रिक गाडीको बारेमा सुन्दा अचम्म लाथ्यो’
उनका अनुसार उनले त्यो गाडीमा इट्टासमेत राखेर बोकेका थिए। उनले चार्ज गर्नको लागि ठाउँसमेत आफ्नै घरमा बनाएका थिए। अहिले ‘इलेक्ट्रिक गाडी’को अवधारणा फैलिने क्रममा छ। कसरी वातावरणमैत्री हुने भनेर धेरैले यसप्रति चासो देखाइरहेको छन्।

तर, त्यसबेला गाडीकै प्रयोग एकदम न्यून हुने समयमे भाइराजाले इलेक्ट्रिक गाडीको बारेमा सोच्नु र त्यसलाई आफ्नै स्रोत साधनमार्फत बनाएर प्रयोग गर्नु ‘अचम्म’नै मानिएको उनी सुनाउँछन्।

‘मेरो गाडी देखेर सबै जना छक्क पर्थ्यो। पेट्रोलविना चल्ने गाडी भनेर टाढा-टाढादेखि हेर्न आउँथ्यो। एकदिन कतै नजिकै जान माइक्रो चढेको थिएँ। त्यहाँ पनि केहि-केहि मान्छेहरू मेरो गाडीको बारेमा कुरा गरिरहेका थिए। नेपालमा पनि यस्तो मान्छे छ रे है भन्दै गफ हानिरहेको थिए’, उनले दङ्ग पर्दै सुनाए।

काठमाडौंको भिमसेनथानमा जन्मिएका उनी बालाजुमा बस्न थालेको पनि ०४६ साल देखिनै हो। सानैमा आमा बितेपछि उनले आफ्नो बुवासँगै घरलाई सम्हाल्नपर्यो। आठ कक्षा भन्दा बढी पढ्न सकेनन्। अनि त्यसै बेला विशालबजारमा रेडियो बनाउने ठाउँमा काम गर्न थाले। त्यहाँ उनले धेरै समय काम नगरे पनि ‘इलेक्ट्रिक’ सम्बन्धी धेरै ज्ञान, सीप बटुले। टिभी र रेडियोको विभिन्न पार्टपुर्जा खोल्न र जोड्न खप्पिस भए।

हरेक राति एउटा सर्किटको शुत्र
त्यही ज्ञानलाई उनले पछि मोटरमा पनि प्रयोग गरे। आजसम्म पनि उनी हरेक राति सुत्नुअघि केहि न केहि सर्किटको शुत्र बनाउँछन्। लेखेर राख्छन् अनि असाध्यै मन परेको सर्किटको शुत्रमा विभिन्न प्रयोगात्मक क्रियाकलाप गरिरहन्छन्। गाडी बनाएको केहि वर्षपछि उनले मोटरबाइक पनि बनाए, जुन पानीबाट चल्थ्यो।

उनले बताउँदै गए, ‘एक सय पच्चीस सीसीको बाइक, विनापेट्रोल पानीबाट डेढ वर्ष चलाएँ। पानी भनेको दुई भाग हाइड्रोजन अनि एक भाग अक्सिजन न हो। त्यसको फर्मुला अनुसार छुट्यायो। हाइड्रोजन एकदम खतरनाक हुन्छ। हिरोसीमा र नागासाकीमा हानेको बम त्यसैको त हो। अहिले रसिया र युक्रेनमा पनि त्यसको चर्चा भइरहेको छ।’

७२औँ वसन्त पार गरेका भाइराजा अहिले पनि बालाजुको चार दोबाटोमा आफ्नो त्यहि कामलाई निरन्तरता दिइरहेका छन्। उनले डोजरदेखि मोटरसाइकलसम्म बनाउन जानेका छन्। गाडी बढेसँगै व्यस्तता पनि बढेको छ उनको। त्यहि व्यस्तताको कारण उनले नयाँ सिर्जना गर्न सकिरहेका छैनन्  तर, सर्किटको शुत्र लेख्न भने अझै छाडेका छैनन्।

‘फुर्सदनै छैन नि! त्यो बेला खाली भएर मात्र गरेको। नत्र त का भ्याउनु। आज भोली ईसीयू(इलेक्ट्रोनिक कन्ट्रोल युनिट)भन्छ, त्यो धेरै गरिरहेको छु। त्यसको काम धेरै हुन्छ’, उनले भने।

एक सुरले उनी भन्दै गए, ‘पहिला कहिले नदेखेको गाडीहरू पनि बने। धेरै गाडी नभए पनि काम मारामार नै थियो। अब अहिले त  छ्यापछ्याप्ती ब्याट्री बस, कार, बाइक आयो नि! खुशी छ यसमा मलाई त! त्यो बेला त अन्दाज नै लगाउन सकेन कसैले पनि यस्तो आउँछ भनेर।’

सोचाइभन्दा बाहिरको अवधारणा भएर धेरैले अचम्म मानेको उनी सम्झन्छन्।

‘यस्तो बनेको थाहा भयो भने समातेर लाग्ला है!' भन्ने कुरा त उनले घरकै सदस्यको मुखबाट समेत सुने। त्यै भएर उनको त्यो कामलाई कसैले पनि सहयोग गर्ने हिम्मत गरेनन्। त्यसबेला ड्राइभर संघको अध्यक्ष उनैका साथी थिए। साथीमार्फत पनि उनले आफ्नो सिर्जनाको बारेमा धेरैलाई भन्न चाहे। तर, उनको कुराको मजाक बनाइयो।

साथ पाएनन्, ‘त्यस्तो’ नबनाउन सल्लाह पाए
‘सीटीईभीटीको मान्छेले त सिधै चिन्दैन भन्यो रे। कसरी चिन्दैन! त्यो बेलामा त्यत्रो अखबारमा पनि आएको थियो। उनीहरूलाई मैले बनाएको फर्मुला भन्न पर्ने रे। उनीहरूलाई सबै देखाएर, चेक गर्न लगेर अनुमति पो लिन पर्ने रे। मैले मेरै सामानको प्रयोग गरेर नयाँ सामान बनाउँदा पनि किन अनुमति लिनुपर्ने? उनीहरूलाई सम्पर्क नगरेको भएर, मलाई चिन्दैन रे। मसँग सम्पर्क राख्ने त कता-कता मलाइ चिन्दैन रे! भयो त अब। त्यहि भएर त्यस पछि कहिल्यै पनि बनाइनँ’, चर्को आवाजमा उनले भने।

उनले अहिले पनि एकदम नयाँ नयन अवधारणाका सामानहरू बनाइरहेका हुन्छन्। कसैले अर्डर दिए इलेक्ट्रिक गाडी पनि तुरुन्तै बनाउन सक्ने दाबी समेत उनले गरे।

उनले थपे, ‘पहिला त्यस्तो अवस्थामा केहि सामान नभएको समयमा त बनायो भने अहिले किन नसक्नु। अहिले त झन् अब तुरुन्तै बनाउन सकिन्छ। यो सामान पठाउनु मात्र भन्नपर्छ विदेशबाट मगाउन मिलिहाल्छ नि! पछिल्लो समय नयाँ बनाउनभन्दा पनि पुरानो मर्मतमै व्यस्त भइरहेको छु।’ 

केहि दिनअघि मात्र पनि यसबारेमा महावीर पुनसँग कुरा भएको उनले सुनाए। त्यस्तै काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले पनि यसबारे चासो देखाएको उनले सुनाए।

उनको पुर्ख्यौली पेशा भने सिकर्मी रहेछ। उनको काका र अन्य आफन्तहरू अझै पनि त्यहि काममा रमिरहेका छन्। तर, उनको बुवाले अर्कै पेशा अंगाले। अनि भाइराजाले पनि आफ्नो पेशा आफैँ छानेर रमिरहेका छन्। बिहान ११ बजे देखि ६ बजेसम्म उनी आफ्नो काममा व्यस्त हुन्छन्।

धेरैलाई उनले आफ्नो सर्किटको शुत्रहरू पनि सिकाएका छन्। डेढ वर्ष जति त उनले नेवारी भाषाको पत्रिकामा हरेक शुक्रबार एउटा-एउटा सर्किटको शुत्र बनाएर समेत राखे। त्यस सर्किटको बारेमा धेरै विद्यार्थीहरू घरमै आएको उनी अहिले पनि सम्झन्छन्।

उनले थपे, ‘नेवारी भाषा नजान्नेहरू पनि आएर यो बुझेन भन्थे। इन्डियन, अझ मुसलमानहरूले धेरै चासो देखाएका थिए। उनीहरूलाई सकेसम्म बुझाएर पठाउथेँ।’

तर, उनले त्यसलाई निरन्तरता दिएनन्। आफ्नै काममा व्यस्त भए। उनको छोरा र नातीले यसप्रति रुचि नराख्ला कि भनेर चिन्ता लागेको पनि बताउने गर्छन्।

भदौ १८, २०८० सोमबार २०:१०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।