एमालेको प्रथम लुम्बिनी अधिवेशनमा ८ बजेदेखि मतदान हुने

एमालेको प्रथम लुम्बिनी अधिवेशनमा ८ बजेदेखि मतदान हुने

बुटवल : सहमतिबाट नेतृत्व टुंगो नलागेपछि बुटवलमा जारी एमालेको प्रथम लुम्बिनी अधिवेशनमा ८ बजेदेखि मतदान हुने भएको छ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनमा सचिवमा बाहेक अन्य पदका लागि साँझ ८ बजेबाट मतदान सुरू हुने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताए।

अधिवेशनमा राधाकृष्ण कँडेल र हरिप्रसाद रिजाल अध्यक्षका उम्मेदवार छन्।

कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्। कँडेल एमालेको लुम्बिनी प्रदेशको तदर्थ समितिका निवर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन्।

लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ।

सचिवमा दाङका लक्ष्मण आचार्य र सोमनाथ सापकोटाको उम्मेदवारी पर्दा उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ।

उनीहरू उपेन्द्रलाल कामी–रुकुम पूर्व, दुर्गाप्रसाद थारू चौधरी–बाँके, पूर्ण बुढामगर–रोल्पा र हिरा एसी–गुल्मी हुन्।

यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बाँकेकी लिला रानामगरको उम्मेदवारी रहेको छ

भदौ १८, २०८० सोमबार १८:५२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।