संगीतकार अर्जुन पोखरेलका प्रिय १० शुर : दीपक बज्राचार्यको त्यो गीतले मलाई मज्जैसँग तान्यो
२०६१ सालबाट औपचारिक रूपमा संगीत यात्रा थालेका अर्जुन पोखरेलका थुप्रै गीतहरू चर्चामा छन्। पछिल्लो समयका चल्तीका संगीतकारमध्ये गनिन्छन् अर्जुन। उनले लेखेका तथा संगीत भरेका अधिकांश फिल्म तथा एल्बमका गीतहरू स्रोतामाझ लोकप्रिय छन्। उनका अधिकांश गीतहरूमा मायामा भाव भेटिन्छन्। अधिकांश गीतमा आफ्नै लेख्ने तथा संगीत गर्दै आएका अर्जुनले आफूलाई प्रिय लाग्ने आफ्ना पाँच र अरुका पाँच गीत यसरी छनोट गरेका छन्।
आफ्ना पाँच
‘तिमी रोएको पल तिमीलाई...’
मैले यो ‘ऐश्वर्य’ फिल्मका लागि बनाएको गीत हो। मैले थुप्रै हिट गीतहरू दिएको थिएँ। तर, यो गीत रिलिज हुँदा चाहिँ धेरै स्रोताले प्रत्यक्ष सम्पर्क गरेर गीतको प्रशंसा गर्नुभएको थियो। म आफैँलाई पनि हृद्यबाट मन परेको गीत हो। यस गीतको मेलोडीको पफमेन्स पनि एकदमै राम्रो भएको छ। मलाई यो गीतका शब्दहरूका लाइनले हृद्यमा छुन्छ। यस गीतको शब्द संगीत मेरो आफ्नै रहेको छ भने स्वर अन्जु पन्त र स्ुगम पोखरेलको छ।
‘म यस्तो गीत गाउँछु...’
यो गीत बनाउँदा मेरो आफ्नै खाल्को थिकिङ्ग थियो। हरेक उमेर समूहका प्रेमी र प्रेमिकाले प्रेम व्यक्त गर्नुपर्यो भने ‘लभ सङ्ग’ कुन होला भनेर निकै बेर सोचेको थिएँ। सबै प्रेमीलाई कसरी गीतमा जोड्ने होला भनेर सोच्दासोच्दै मेरो पहिलो र दोस्रो हरफ फुरिहाल्यो, ‘म यस्तो गीत गाउँछु जुन प्रेम गीत बनोस्, हर माया गर्ने जोडीले आफ्नै गीत भनोस्’ अनि डायरीमा लेखिहालेँ।
अनि आफूले आफैँलाई कल्पना गरेर त्यो ठाउँमा प्रेमी र प्रेमिका भेटिँदा राम्रा–राम्रा सपना होस् त्यहाँ जस्ता शब्दहरू कोर्न थालेँ। जोड्दा जोड्दै यसका शब्दहरूबाट राम्रो गीत बनेको थियो। फिल्ममा लभ सङ आइरहेको बेला यो गीतले केहि भए पनि गीतहरूमा परिवर्तन गरेको जस्तो लाग्छ मलाई। यो गीतको भाव शब्द र स्वरले एकदमै म्याच गरेको हुनाले पनि यो गीत मलाई प्रिय लाग्छ।
‘नबोली नबोली...’
यो मेरो एल्वममा समावेश गरिएको गीत हो। यो गीत पनि प्रेमी–प्रेमिकाप्रति समर्पित गीत नै हो। सरल किसिमले गम्भीर विषयवस्तुलाई जोडेको कारण पनि मलाई यो मनपर्छ। मैले लेख्दाखेरिको भाव, कम्पोज गर्दाको भाव स्रोताहरूले बुझ्ने भाव फरक–फरक हुनसक्छ। अझ बढी यसको अन्तराले मलाई छुन्छ।
किनभने मुनामदन के कारणले छुटेका थिएँ भन्ने प्रश्नलाई उत्तर दिएको छ। मुनामदनमा माया गाढा थियो तर छुट्नु पर्ने कारण ल्हासामा भएको सुन लगाउने इच्छा थियो। तर, यस गीतमा चाहिँ नुन पानी खाएर नै चित्त बुझाउने तर आफ्नो प्रेमीसँग नछुट्ने वाचा गरेको गीत हो।
यो धेरैलाई मन परेको र धेरैले मन पराइदिनुभएको गीत हो। म आफुले कम्पोज गर्दा नै एकदमै मन परेको थियो। त्यस कारण पनि यो गीत मलाई मन पर्छ। यस गीतलाई समीक्षा अधिकारी र प्रवीण बेडवालले गाउनुभएको छ।
तिम्रो घरको वरिपरी, आएर घरीघरी
यो गीत मलाई किन पनि मनपर्छ भने यो गीतले हिजो र आजका पुस्तालाई नै समेटेको छ। हिजोका पुस्ताहरू पनि आफूलाई मनपरेको प्रेमी वा प्रेमिकाको घर वरिपरी जाने गर्थे भने अहिलेका पनि जान्छन्। मलाई कोही प्रेमिका मन पथ्र्यो भने यसको घरको बाटो, उसको नजिक कतै या कौसीबाट हेर्थे होला। लभ गर्दाको पर्खाइ छ यो गीतमा।
यता केटीले पनि म पनि तिमीलाई हेरिरहेको छु, देखिरहेको छु भन्दै प्रश्नको उत्तर दिन्छे। यो गीतमा लभ गर्नुअघिको प्रोसेसलाई गरेको कुरालाई भाव व्यक्त गरेको छ। यसको मेलोडी पनि म आफैँलाई राम्रो लागेको हुनाले मलाई मनपर्छ।
अहिले मात्र होइन लामो समयसम्म पनि यो गीत स्रोतामाझ लोकप्रिय हुन्छ भन्ने मलाई लाग्छ। यो गीतलाई सोनम तोप्देन र अस्मिता अधिकारीले गाउनुभएको छ भने शब्द संगीत मेरो आफ्नै छ।
धर्ती आकाश
मैले यो गीत छान्नुको कारण के छ भने आफ्नो प्रेमीले प्रेमिकालाई हरेक कुराहरू पुर्याउँछु भन्छन्। यसमा धर्ती र आकाश त म जोड्न सक्दिनँ तर तिमीसँग मेरो एउटा मन छ, त्यो मन जोड्नसक्छु भन्ने भाव व्यक्त गरिएको छ। यसमा भएका शब्दहरूले मेरो मनलाई छुन्छ। बेला–बेलामा गुनगुनाइ पनि रहेको हुन्छु। त्यसकारण यो मेरो लागि प्रिय गीतमध्ये एक हो। यस गीतको शब्द संगीत मेरो आफ्नै रहेको छ भने स्वर दुर्गा खरेल र रोशन अधिकारीको छ।
अरुका पाँच
जहाँ छन् बुद्धका आँखा
मलाई यो गीत असाध्यै मन पर्ने गीतहरूमध्ये एक हो। भक्तराज आचार्यले गाउनुभएको यो गीतले विश्वमा शान्ति फैलाउने गौतम बुद्धका वर्णन गरिएको छ। बुद्ध आँखा जहाँ छ त्यहाँ अशान्ति हुँदैन भन्ने भाव गीतमार्फत व्यक्त गरिएको छ। यो गीत सुन्दा मलाई एकदमै आनन्द लाग्छ। यो गीत सुन्दा कहिलेकाहीँ मलाई के लाग्छ भने अंग्रेजी भाषामा यो गीत आएको थियो भने विश्वमा रहेका बुद्ध प्रेमीहरूले एकदमै मन पराउथेँ होला। त्यति मीठो भाव छ। गायकी र कम्पोजिसनको हिसावे पनि यो गीत एकदमै सुन्दर लाग्छ। त्यसकारण पनि यो गीत मेरो लागि प्रिय लाग्छ।
यति चोखो यति मीठो
म यो गीतबाट एकदमै प्रभावित भएको छु। यो गीतको शब्दले भने अनुसार यति चोखो यति मिठो दिउँला तिमीलाई माया, बिर्सनेछन् साराले पुराना प्रेमका कथा। यो गीतको भावले के भन्छ भने पुराना प्रेमका कथा के कति थिए ती सबै बिर्सने खालका माया म तिमीलाई गर्छु भनिएको छ। यति गहिरो भावमा बगेको यो गीतले मेरो हृदयलाई एकदमै छुने गर्छ। अरुले गरेको प्रेमभन्दा हाम्रो प्रेम उत्कृष्ट हुनुपर्छ भन्ने भाव गीतले पोखेको छ। त्यसकारण पनि यो गीत मलाई मनपर्छ। म आफैँ पनि बेलाबेला यो गीत गुनगुनाउने गर्छु। यो गीतले नारायण गोपालले गाउनुभएको छ।
पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ
मलाई यो गीत किन पनि मनपर्छ भने नेपालको तराई र पहाड समुदायको एक समय द्वन्द्व चर्किएको थियो। त्यो बेला यो गीत जताततै बजेको थियो। तराई मुल र पहाडै मुलका समुदायलाई जोड्ने काम गरेको छ। पहाडमा जाडो बढ्दा तराईले सेक्नुपर्छ तराईमा हुरी आए पहाडले छेक्नुपर्छ भन्ने भाव गीतले बोलेको हुनाले एकदमै राम्रो लागेको हो।
गीतलाई सुन्दर तरिकाले दिनेश अधिकारीले शब्द कोर्नुभएको छ भने गायनमा स्वरूपराज आचार्यको छ। संगीत आलोकश्रीको छ। यो गीतको शब्द संगीत र स्वर असाध्यै राम्रो बनेको छ। मेची महाकालीका धेरै गीत बनेका छन्। तर, तराई र पहाडको गीत कमै बनेका छन्। त्यसमा पनि यो गीत एकदमै राम्रो र सुन्दर बनेको छ। त्यसकारण पनि यो गीत मेरो लागि प्रिय छ।
उकाली ओरालीहरूमा
यो गीतको शब्दअनुसार गायन सुन्न सकिन्छ। उकाली भन्दा स्वर त्यहि अनुसार उचाइमा पुगेको छ भने ओराली भन्दा त्यस्तै छ। यो गीतले आफ्नै नेपालीपन बोकेको गीत हो। यो गीत विदेशमा भएको भए सायद उकाली ओरालीका गीत बन्दैन थिए होला। नेपालमा उकाली ओराली भङ्ज्याङ चौतारी भएको हुनाले यसै अनुसारको गीत बनेको छ। गीतका शब्दहरू एकदमै सुन्दर रहेको छ। नेपाली भुभाग र परिवेशलाई समेटेर चाँदनी शाहले लेख्नुभएको हो गीतलाई तारादेवीले गाउनुभएको छ।
मन मगन
दीपक बज्राचार्यले गाउनुभएको गीतहरूमध्यै मलाई एकदमै मनपर्ने गीत हो। यो मलाई किन पनि मनपर्छ भने नेवारी कल्चरलाई अलिकति समेटेर मेलोडी बनाउनुभएको छ। यो गीतमा नयाँ फ्युजनमा बनेको छ। पहिलो कुरा त नेवारी समुदायका लागि पनि यो राम्रो कुरा हो। किनकी नेवारी समुदाय नै हाम्रो कल्चर हो। यहि समुदायलाई समेटेर ट्वाक्क फरक स्वादमा स्रोता दर्शकमाझ पस्किनुभएको छ। यो गीतले मलाई समेत तान्न सकेको छ। यसकारण पनि यो गीत मलाई मनपर्छ। यस गीतको संगीत दीपक बज्रचार्यकै रहेको छ भने शब्द रिक्की शाक्यको छ।
भदौ १८, २०८० सोमबार १५:४३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।