एमाले लुम्बिनी अधिवेशन : अध्यक्षका उम्मेदवार रिजालको प्रतिनिधित्व नै अवैध, सङ्गठित सदस्य सङ्ख्या नै भेटिएन

एमाले लुम्बिनी अधिवेशन : अध्यक्षका उम्मेदवार रिजालको प्रतिनिधित्व नै अवैध, सङ्गठित सदस्य सङ्ख्या नै भेटिएन

काठमाडौं : एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हरि रिजालको वैधानिकतामाथि नै प्रश्न उठेको छ। 

प्यूठानको नौबहिनी गाउँपालिका–६ का रिजालको लुम्बिनी प्रदेशमा संगठित सदस्यता नै नरहेको कुरा बाहिरिएपछि उनको प्रतिनिधित्वमा समेत पश्न उठेको हो।

जारी अधिवेशनमा निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेलसँगै चुनाव लड्ने तयारी गरेका रिजालको काठमाडौंमा संगठित सदस्यता सारेको हुँदा उनको प्रतिनिधित्व अवैध भएको तथा उम्मेदवारी स्वतः खारेज हुने एमाले नेताहरु बताउँछन्।

यद्यपि रिजाललाई वैधानिक कायम गर्न नेताहरुले सिफारिस तयार पार्ने तयारी भएको स्रोतले बताएको छ। दुई पक्ष बीच सहमतिका लागि लामो प्रयास गर्दा पनि टुङ्गो नलागेपछि दुबै जनाले आइतबार उम्मेदवारी दर्ता गराएका थिए।

रिजालको सङ्गठित सदस्य सङ्ख्या १७५१ नम्बर लुम्बिनी प्रदेशमा रहेको छैन। रिजालले आइतबार दर्ता गराएको १०१ नम्बरमा अध्यक्ष पदको उम्मेदवारी खारेज हुने देखिएको हो।

यस्तै, अधिवेशनमा उपाध्यक्ष पदका लागि पुजन विक , भाेज प्रसाद श्रेष्ठ, विश्वराज वराल र शान्ताकुमारी वलीले उम्मेदवारी दिएका छ्न। 

सचिवमा लक्ष्मण आचार्य र सोमनाथ सापकोटाकाे उम्मेदवारी परेकाे छ। उपसचिव पुरुष तर्फ उपेन्द्रलाल कामी, दुर्गाप्रसाद थारु, पुर्णबहादुर बुढा मगरले उम्मेदवारी दिएका छन् भने महिला उपसचिवमा लिला राना मगर र बसन्ती अधिकारीले उम्मेदवारी दिएको निर्वाचन समितीले जनाएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार आठ सय ९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी एक हजार चार प्रतिनिधिहरु सहभागी छन्।

अधिवेशनले यसअघि ५ सय ७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २ सय ५ सदस्यीय बनाउनेछ। 

सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १ सय ३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १ सय ११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन्।

त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

भदौ १८, २०८० सोमबार १३:४०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।