गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा तीनलाख भेटी संकलन

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा तीनलाख भेटी संकलन

रसुवा : पवित्र तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा रु तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ।

जनैपूर्णिमा पर्वका अवसरमा  श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।

यही भदौ १४ गते सम्पन्न जनैपूर्णिमा पर्वको विशेष मेला भर्न नीलाद्री पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी पुजारीमार्फत सङ्कलन भएको र सो भेटी नेपाल प्रहरीको सुरक्षाका साथ धुञ्चे पुर्याई गणना सम्पन्न भएको थियो।

यसैगरी गोसाइँकुण्ड जाने यात्रुबाट लाङटाङ राष्ट्रिय निकुञ्जले प्रवेश शुल्कबापत रु आठ लाख २४ हजार सात सय सङ्कलन गरेको छ। यहाँ प्रतिव्यक्ति रु एक सय शुल्क लिने कानुनी प्रावधान छ।

भदौ १८, २०८० सोमबार १३:३२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।