जेठदेखि अवरुद्ध ताप्लेजुङ-काठमाडौं उडान सुचारु, भाडा घट्यो

जेठदेखि अवरुद्ध ताप्लेजुङ-काठमाडौं उडान सुचारु, भाडा घट्यो

ताप्लेजुङ : नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौं सुकेटार उडान सुरु गरेको छ। खराब मौसम लगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौं सुकेटार उडान हुन सकेको थिएन।

मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए। अब पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने बताइएको छ।

यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ। काठमाडौं ताप्लेजुङको भाडा यसअघि रु नौ हजार ६ सय ५३ थियो भने हाल घटाएर रु आठ हजार ६ सय कायम गरिएको छ।

यस्तै ताप्लेजुङ काठमाडौँको भाडा यसअघि रु नौ हजार चार सय ५३ भएकोमा यसलाई घटाएर रु आठ हजार चार सयमा झारिएको छ।

करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ।

भदौ १८, २०८० सोमबार ११:४४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।