पहिलो खेल हारेको बंगलादेश एसिया कपको सुपर फोरमा
एजेन्सी : पहिलो खेल हारे पनि अफगानिस्तानलाई ८९ रनको फराकिलो अन्तरले हराउँदै बंगलादेश एसिया कपको सुपर फोरमा पुगेको छ।
समूह ‘बी’को पहिलो खेलमा श्रीलंकासँग पराजित भएको बंगलादशले एक खेल जितेर नेटरनरेटको आधारमा अन्तिम चारमा स्थान पक्का गरेको हो।
अब यो समूहको अन्तिम खेलबाट श्रीलंका वा अफगानिस्तान मध्ये एक टिम छनौट हुनेछ।
अफगानिस्तानलाई हराउन बंगलादेशका ओपनर मेहेदी हसन र हसन शान्टोले शतक बनाए। खेलमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३४ रन बनाएको थियो।
जसका लागि मेहेदी हसनले १ सय १९ बलमा ७ चौका र ३ छक्कासहित १ सय १२ रनको शतकीय इनिङ खेले। शान्टोले १ सय ५ बलमा ९ चौका र २ छक्कासहित १ सय ४ रनको योगदान दिए।
यसपछि जितको लागि ३ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ४४.३ ओभरमा २ सय ४५ रनमा अल आउट भयो।
अफगानिस्तानका इब्राहिम जद्रानले सर्वाधिक ७५ रनको योगदान दिए। बंगलादेशका तस्किन अहमदले ४ विकेट लिए।
भदौ १८, २०८० सोमबार ०९:१६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।