कतारविरुद्ध नेपाललाई ७५ रनको लक्ष्य, इन्दु बर्माले एकै ओभरमा लिइन् ३ विकेट
काठमाडौं : नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा कतारसँग जितका लागि ७५ रनको सहज लक्ष्य पाएको छ।
मलेसियामा जारी प्रतियोगिताको चौथो खेलमा कसिलो बलिङ गरेको नेपालले कतारलाई ७४ रनमै रोक्यो। जसका लागि इन्दु बर्माले उत्कृष्ट बलिङ गरिन्। उनले एकै ओभरमा तीन विकेट लिएकी थिइन्।
खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कतार निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनमा समेटियो।
१७ औं ओभरमा तीन विकेट लिएकी इन्दुले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन्। त्यस्तै पूजा महतो र कविता जोशीले एक एक विकेट लिए।
लगातार चौथो जितको योजना बनाएको नेपाल कतारलाई हराए अन्तिम खेलअघि नै सेमिफाइनलमा पुग्नेछ।
समूह ‘ए’ मा नेपालले यसअघि मलेसिया, बहराइन र भुटानलाई पराजित गरिसकेको छ। नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्।
प्रतियोगितामा दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि-२० क्वालिफायर खेल्न पाउने छन्।
भदौ १८, २०८० सोमबार ०८:४९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।